तपस्वी राम बहादुर बमजन आश्रममा नभेटिएपछी उनका मुख्य शिष्य प्रहरीद्वारा पक्राउ



बलात्कार र हत्यासहित विभिन्न अपराध गरेको आरोप लागेका रामबहादुर बमजनलाई खोज्न गएको प्रहरीले सिन्धुलीस्थित आश्रमबाट उनीनिकटस्थ एक शिष्यलाई नियन्त्रणमा लिएको एक अनुयायीले बताएका छन्।

बमजनसम्बद्ध बोधी धर्म श्रवण सङ्घका केन्द्रीय सदस्य छत्र घिसिङका अनुसार बमजनका शिष्यहरूले ‘महामार्ग गुरु’ भन्ने गरेका ज्ञानबहादुर बमजन (झ्याम्पा तोप्चेन) लाई प्रहरीले पक्राउ गरेको बिबिसी नेपाली समाचारमा उल्लेख छ । ।

बिहानै आश्रम पुगेको नेपाल प्रहरीको एउटा टोलीले सोधपुछपछि उनलाई गिरफ्तार गरेको हो। घिसिङका अनुसार प्रहरीहरू नौवटा गाडीमा आएका थिए।

तपस्वी रामबहादुर बमजनबिरुद्ध बाल यौन दुराचार आरोपमा पक्राउ पुर्जी जारी भएको छ।

सर्लाही जिल्ला अदालतले बमजन विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीले सिन्धुली प्रहरीलाई बिहीबार पत्र लेख्दै बमजनलाई उपस्थित गराउन भनेको छ ।

सर्लाही प्रहरी प्रमुख विश्वमणि पोखरेलले एक जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जाहेरी परेपछि उनी विरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको पुष्टि गरेका छन् । बम्जनलाई पक्राउ गर्न प्रहरी टोली सिन्धुलीस्थित उनको आश्रममा पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता एवम् डिएसपी श्यामबहादुर खत्रीले आफूहरू जङ्गलको बिचमा रहेको बमजनको आश्रममा आएको बताए । खत्रीले भने, ‘हामीहरू आश्रममा आएका छौँ, तर उनलाई लाई फेला पारेका छैनौँ ।’ सिन्धुली बजारदेखि ६ किलोमिटर दुरीमा रहेको आश्रममा पुगेको सिन्धुली प्रहरीको टोलीलाई उनका अनुयायीहरूले तपस्वी अज्ञात स्थलमा ध्यानमा रहेको जानकारी दिएको उनले बताएका छन् ।

यसअघि पनि बमजन विरुद्ध चार जना पुरुष र महिला बेपत्ता बनाएको भन्दै तीन जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका निवेदन उपरको कारबाही अघि बढ्न सकेको छैन।

बमजनको आश्रमबाट २०६९ देखि २०७२ बिचमा चार जना अनुयायी हराएको निवेदन तीन जिल्लाका प्रहरी कार्यालयमा दर्ता छ । बारामा सुरेश आलेमगर, मकवानपुरमा सन्चलाल वाईबा र फुलमाया रुम्बा  र नुवाकोटमा चुल्मा र कर्मा भनेर बोलाउने चिनिमायाँ तामाङ हराएको भन्दै खोजिदिन आफन्तले निवेदन दिएका हुन् ।

यसअघि गत वर्ष पुसमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले इन्द्रावती गाउँपालिका-६ स्थित आश्रममा पनि छापा मारेको थियो ।

प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार  ५ : ५६ बजे