पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंहले आफ्नो दावी गरेको काठमाडौंको छाउनीस्थित १५ रोपनी १ आना क्षेत्रफलको घरजग्गा नेपाल ट्रष्टको नाममा ल्याउन सर्वोच्च अदालतले बाटो खुला गरिदिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाको रिट खारेज गरेसँगै छाउनीस्थित स्वर्गीय राजा वीरेन्द्रको नामको सो घरजग्गा ट्रष्टमा ल्याउन बाटो खुलेको हो ।
इजलाशमा राणासहित न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह थिए। २०६४ पुस १ मा सरकारले पूर्वराजा वीरेन्द्रको सम्पत्तिका रुपमा रहेको जग्गा नेपाल ट्रष्टमा गाभ्ने निर्णय गरेको थियो । छाउनीको जग्गा आफ्नो दाइजो भएको दावी गर्दै प्रेरणा पहिलो पटक २०७१ माघ २५ मा सर्वोच्च अदालत पुगेकी थिइन् ।
तत्कालीन प्रधानन्यायाधीश रामकुमार शाह र न्यायाधीश चोलेन्द्रशमशेर जबराले २०७२ असोजमा प्रेरणाकै पक्षमा फैसला गरेका थिए । तर उक्त फैसलाविरुद्ध नेपाल ट्रष्टले पुनरावलोकनको निवेदन हालेको थियो ।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपक कार्की र सपना मल्लको संयुक्त इजलासले २०७३ पुस २१ गते सो जग्गा ट्रष्टको हुने फैसला गरेको थियो। तर, आफूले दाइजोको रुपमा पाएको जग्गा सरकारले नेपाल ट्रष्टअन्तर्गत ल्याउन नमिल्ने भन्दै प्रेरणाले २०७५ पुस ६ गते फेरि रिट दायर गरेकी थिइन् ।








