चीनको बुहानबाट नेपालीलाई फर्काइदै : खरिपाटीमा खाली गराइयो दुई भवन, स्थानियको चर्को बिरोध



चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुइटा भवन खाली गराइएको छ।

प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराएको हो।

होस्टेलको तल्लो भवनको सम्पूर्ण सामान प्राधिकरणको माथिल्लो प्रशासनिक भवनमा सारिएको र वातावरण विभाग भवनको सामान पनि सारिएको उनले जानकारी दिए।भवन खाली गराउन होस्टेलमा रहेका बिरामीलाई फर्काइएको र दुवै भवनका सबै सामान झिकेर माथिल्लो प्रशासनिक भवनमा सारिएको छ।

नेपाली सेनाको प्राविधिक, स्वास्थ्य मन्त्रालयलगायत टोलीले अध्ययन गरी उक्त ठाउँको छनौट गर्दै प्रतिवेदन बुझाएपछि सरकारले भक्तपुरको खरिपाटीस्थित प्राधिकरणमा आइसोलेसन वार्डका रुपमा क्वारेन्टाइन राख्ने निर्णय गरेको बताइएको छ।टोलीले अध्ययनका क्रममा १२४ जनालाई यहाँ राख्न सकिने जानकारी गराउँदै ठाउँ खाली गराएको प्राधिकरणले जनाएको छ।भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सवीन प्रधानलगायत सुरक्षा निकायको टोलीले हिजो शुक्रबार उक्त स्थानको अवस्था र तयारीको बारेमा अवलोकन गरी जानकारी लिएको कर्मचारीले बताएका छन्।

खरिपाटीमा क्वारेन्टराइन राख्ने सरकारको निर्णयसँगै स्थानीयवासीले चर्को विरोध गर्दै आएका छन्। स्थानीयवासीले यो ठाउँमा क्वारेन्टाइन राख्न नदिने भन्दै दैनिक आन्दोलन गर्दै आएका छन् । चाँगुनारायण नगरपालिकामार्फत सरकारलाई ज्ञापनपत्रसमेत बुझाएका छन्।चाँगुनारायण नगरपालिकाको छैठौ नगरसभाले चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै विकल्प खोज्न आग्रह गरेको चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।

उनले चीनबाट फर्काइएका नेपालीका लागि खरिपाटीमा क्वारेन्टाइन राख्ने सरकारको निर्णय कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको नगरसभाले ठहर गर्र्दै त्यसको विकल्प खोज्न आग्रह गरेको उनले जानकारी दिए ।चाँगुनारायणको केन्द्र र बस्तीको बीचमा रहेको यो क्षेत्र कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको भन्दै यो क्षेत्रमा क्वारेन्टाइन राख्दा स्थानीयवासीबाट आउने अवरोध र सङ्कटलाई मध्यनजर गर्दै सरकारलाई अन्यत्र विकल्प खोज्न आग्रह गरेको उनको भनाइ थियो।

चाँगुनारायण नगरपालिका–८ का वडाध्यक्ष परासर सापकोटा, वडा नं २ का अध्यक्ष शिवहरि केसी, वडा नं ३ का अध्यक्ष श्यामसुन्दर धिमाल, वडा नं ४ का वडाध्यक्ष बुद्धिलाल महर्जनले चीनबाट फर्काइएका नेपाली खरिपाटीमा राख्ने निर्णयले आमनागरिकमा त्रास र क्रोध जन्माएको बताउँदै बस्तीको बीचमा क्वारेन्टाइन राख्नु कुनै पनि हालतमा उपयुक्त नभएको बताए ।बस्तीभन्दा दुई किलोमिटर टाढा क्वारेन्टाइन राख्नुपर्ने अन्तरराष्ट्रिय मान्यतालाई सरकारले मिच्दै बस्तीको बीचमा चीनबाट फर्काइएका नेपाली राख्न खोजेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।

वडा नं ९ का वडा सदस्य कमला गिरीले चीनबाट फर्काइएका नेपालीलाई घनावस्तीको बिचमा राख्ने सरकारको निर्णयले स्थानीय बासिन्दादेखि पर्यटकीय क्षेत्रलाई असर पर्ने भन्दै सच्याउन माग गरे ।

प्रकाशित मिति : माघ २५, २०७६ शनिबार  ९ : ०० बजे