जिससद्धारा वितरित जिन्सी सामाग्रीको सार्वजनिकीकरण



जिल्ला समन्वय समिति ओखलढुंगाले विभिन्न निकायमा पठाएको जिन्सी सामाग्रीहरुको सार्वजनिकीकरण गरेको छ ।

पत्रकार सम्मेलन गरी जिल्ला समन्वय समितिमा प्राप्त सामाग्री र जिसस बाट स्थानीय तहमा पठाएका सामाग्रीहरुको तथ्यांक सार्वजनिकीकरण गरेको हो । समन्वय समितिले विभिन्न निकायमा पठाएका सामाग्रीहरुका बारेमा आएका समाचार प्रति असन्तुष्टि जनाउदै समन्वय प्रमुख जयबहादुर श्रेष्ठले माग र आवश्यक्ताका आधारमा प्रकृया पुर्याइ जिन्सी सामाग्री दिएको बताए ।

कतिपय आर्थिक तथा जिन्सी सामाग्रीहरु आफ्नो अनुपस्थितिमा तत्कालिन जिल्ला समन्वय अधिकारीले वितरण गरेको र सो सन्दर्भमा समेत आवश्यक छानविन भैरहेको प्रमुखको भनाइ छ । पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको तथ्यांक अनुसार ४६ हजार १ सय १० केजी रोल तार, १४ हजार ७ सय ३१ थान बुनेको तार जाली, २ हजार ९ सय ८३ थान गल, गैती, सावेल, फरुवा, कोदालो, लगायत विभिन्न निर्माण सामाग्रीहरु रहेका छन् । त्यस्तै विभिन्न साइजका २१ हजार ४ सय ९३ मिटर पोलिथिन पाइप सोत वितरण भएको छ । उक्त जिन्सी सामाग्रीहरु माग र आवश्यक्ताका आधारमा प्रकृया पुर्याएर पठाइएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

आर्थिक कारोवारका विषयमा आफ्नो अधिकार नभएको भन्दै प्रमुख श्रेष्ठले तत्कालिन समन्वय विकास अधिकारी बाट केही जिन्सी सामाग्री र बजेट समेत आफुलाई थाहै नदिई खर्च गरेकाले सम्बन्धित निकायले त्यसको छानविन गरिरहेको हुँदा केही समय पछि वास्तविक्ता बाहिर आउने बताए । जिल्ला समन्वय समिति मार्फत वितरण गरिएका सामाग्रीका विषयमा उजुरीनै परेकाले सामाग्रीको पूर्ण विवरण जिल्ला प्रशासन कार्यालयमा पठाईसकिएको र आवश्यक पर्दा उक्त विवरण जो सुकैले हेर्न सक्ने जिल्ला समन्वय समिति ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन २, २०७६ शुक्रबार  ५ : ५६ बजे