शुक्रबार बिहानैदेखि मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन वटा अन्तर्राष्ट्रिय र सयभन्दा बढी आन्तरिक उडानहरु होल्ड ढिलो र रद्द भएका छन् ।
कतारबाट काठमाडौं आएको कतार एयर, मलेसियाबाट आएको मालिन्दो र बैंककबाट आएको थाइ एयरलाइन्स होल्डमा परेका छन् ।
त्यस्तै ओमानबाट आएको सलाम एयर आधा घण्टा होल्ड गरेपछि भारतको पटना डाइभर्ट भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । शुक्रबार बिहानैदेखि आन्तरिकतर्फका १२० वटा उडानहरु ढिलो र रद्द भइरहेका छन् । विमानस्थलका अनुसार बुद्ध, यती र सिम्रिक गरी तीन वटा वायुसेवाका माउन्टेन, पोखरा, तुम्लिङटार र भरतपुर गरी साढे एक बजेसम्ममा २५ वटा उडान रद्द भइसकेका छन् ।
विमानस्थल कार्यालयका अनुसार केहीसमय होल्ड गरेर अवतरण हुनसक्ने भएकोले अहिलेपनि दुईवटा जहाज काठमाडौं वरीपरिकै आकासमा घुमिरहेका छन् ।
मौसमले गर्दा आन्तरिक उडानलाई भिजिबिलीटी कम भएको कारण ढिलो भइरहेको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए ।








