११०औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छिन् ।
अन्तर्राष्ट्रिय नारी दिवसले लैङ्गिक समानताका विषयलाई आत्मसात गर्न तथा लैङ्गिक समानताका लागि क्रियाशील नयाँ र पुराना पुस्ताका अधिकारकर्मीलगायत सम्बद्ध सबैलाई थप उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना उनले व्यक्त गरेकी छिन् ।
आइतबार एक शुभकामना सन्देश जारी गर्दै उनले महिलाहरूको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न साझा अभियानको रूपमा ‘समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता’ भन्ने राष्ट्रिय लक्ष्यका साथ यस वर्ष ११०औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै गरेको र उक्त उद्देश्यलाई साकार तुल्याउन सम्बद्ध सबै पक्ष अग्रसर हुनुपर्ने महसुस गरेको धारणा उनले व्यक्त गरेकी छिन् ।








