नवरात्रको नवौँ दिन: आज महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने



काठमाडौँ,कार्तिक २ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीको कर्म गर्नुपर्ने जनाएको छ।

समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ। कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म २ गते पनि दशैँ घर वा पूजा कोठामा दोहोर्याउनुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले जानकारी दिए।

कात्तिक २ गते नवरात्रको नवौ दिन भएपनि कर्म भने आठौँ दिनमा गरिने नै गर्नुपर्छ। दशैँ घर पूजा कोठामा कात्तिक २ गते सोमबार पनि नव दुर्गामध्येकी आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्छ। अन्य कर्म पनि महाअष्टमीकै दिनमा गरेका कर्मलाई दोहोर्याउनुपर्ने पनि उनले बताए।

प्रकाशित मिति : कार्तिक २, २०८३ सोमबार  ९ : ०० बजे