इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न इटाली सरकारले आदेश दिएको छ । घातक कोरोनाभाइरसको सङ्क्रमण रोक्ने प्रयासस्वरुप सरकारले कडा कदम चाल्न बाध्य भएको जनाएको छ ।
इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले ट्विट गर्दै भेनिस र आर्थिक राजधानी मिलानलगायतको ठूलो क्षेत्रमा कम्तिमा एक महिनाका लागि आवागमनमा कडाई गर्ने एक योजनामा हस्ताक्षर गरेको बताएका छन् । प्रधानमन्त्री कोन्टेको आदेशमा मानिसको भिडभाड हुने सिनेमाघर, संग्रहालय, थिएटरहरु सबै बन्द गर्न भनिएको छ ।
नयाँ निर्णय अनुसार इटालीको उत्तरी क्षेत्रका अधिकांश स्थान बन्द (लक डाउन) हुनेछन्कोरोना भाइरस नियन्त्रण गर्न इटाली सरकारले गरको यो निर्णय चीनपछिको सबैभन्दा कडा निर्णय हो । इटालीको यो निर्णयले तत्कालका लागि त्यहाँको अर्थव्यवस्था नराम्ररी बिग्रिनेछ । इटालीको अर्थव्यवस्थाको मुख्य इन्जिन यहि क्षेत्रलाई मान्ने गरिएको छ । जहाँ इटालीको कुल जनसंख्याको २५ प्रतिशत मानिसहरु बसोबास गर्छन् ।
यसमा सम्पूर्ण लोम्बार्डी क्षेत्रका साथै भेनिस र वरपरका क्षेत्रहरू, र पर्मा र रिमिनी शहरहरू सामेल छन् । यसबाट इटालीको कूल ६ करोड जनसंख्याको एक तिहाईलाई असर पार्नेछ ।
यी ठाउँहरूमा सङ्ग्रहालयहरु, रात्रिक्लब, जिमखाना र क्यासिनोहरू बन्द गरिनेछन् । सकेसम्म मानिसलाई घरभित्रै बस्ने सल्लाह दिइएको बताउँदै उक्त अखबारले यी प्रतिबन्धहरू आगामी अप्रिल ३ सम्म लागू हुने जनाएको छ ।
यी क्षेत्रभन्दा बाहिरका व्यक्तिलाई आआफ्ना घर फर्कन दिइनेछ ।
इटालीमा कोभिड–१९ कै कारण झण्डै २ सयउ ३० जनाको मृत्यु भइसकेको छ । चीन बाहिर यति ठूलो संख्यामा मानिसको मृत्यु भएको इटालीमै हो । चीनमा गत डिसेम्बरमा देखा परेको यस प्रकोपले विश्वका धेरै देशलाई प्रभाव पारिरहेको छ ।
विश्व बैंकका अनुसार जापान पछि इटालीमा विश्वमै बुढ्यौली उमेरका मानिसको बसोबास सर्वाधिक बढी छ, र नयाँ कोरोनाभाइरसबाट वृद्धहरू गम्भीर बिरामी हुने सम्भावना बढी देखिन्छ ।
विश्वव्यापी रूपमा, कोरोना सङ्क्रमित व्यक्तिको संख्या एक लाख नाघिसकेको छ । यस रोगबाट हालसम्म ३ हजार ५०० जनाको मृत्यु हुनुका साथै विश्वका ९५ भन्दा बढी देशमा कोरोना फैलिइसकेको छ ।










