उत्तर कोरियाको क्वारेनटाइनमा थुनिएका बिभिन्न देशका राजदुत सहित ६० विदेशीले उत्तर कोरिया छोडे



कोरोनाभाइरस सङ्क्रमण फैलिने आशङ्कामा उत्तर कोरियामा केही हप्तादेखि क्वारन्टीनमा बस्न बाध्य पारिएका झन्डै ६० विदेशी नागरिकहरूले प्योङ्‌याङ छोडेका छन्।उनीहरूलाई लिएर एक महिनाभन्दा बढी समयपछि एउटा विमान रुस गएको एनके न्यूजले जनाएको छ।

उत्तर कोरियाको उक्त राष्ट्रिय ध्वजावाहक विमान सुदूरपूर्वी रुसको भ्लादिभोस्तोकमा सोमवार बिहान अवतरण गरिसकेको छ।उत्तर कोरिया छोड्नेमा विदेशी कूटनीतिज्ञ र दूतावासका कर्मचारीहरू छन्।फेब्रुअरीदेखि मार्च पहिलो सातासम्म उनीहरूलाई आफ्नो हाताबाट बाहिर निस्किन दिइएको थिएन।

क्वारन्टीनको अवधि सकिएपछि स्वीडनका राजदूतले आफ्नो तस्बिर ट्विटरमा हाल्दै आफू खुसी भएको उल्लेख गरेका छन् ।तेस्तै उत्तर कोरियाका लागि ब्रिटिश राजदूतले सोमवार बिहान ट्वीट गर्दै “जर्मन दूतावास र फ्रान्सको कार्यालयका सहकर्मीहरूलाई” बिदा गर्दा आफू दु:खी भएको लेखेका छन्।

उत्तर कोरिया सरकारले झन्डै ३८० विदेशीलाई कम्तीमा ३० दिन क्वारन्टीनमा बस्न लगाएको थियो। तीमध्ये अधिकांश प्योङ्‌याङस्थित विदेशी नियोगमा कार्यरत कूटनीतिज्ञ र कर्मचारी थिए।

बाध्यकारी
कोरोनाभाइरस सङ्क्रमण फैलिने डरले उत्तर कोरियाले राजधानी प्योङ्‌याङमा भएका सयौँ विदेशी नागरिकलाई क्वारन्टीनमा बस्न निर्देशन दिएको थियो।रुसका राजदूत एलेक्सान्दर मात्सेगोराले त्यो परिस्थिति बाध्यकारी भएको टिप्पणी गरेका छन्।

उत्तर कोरियामा अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमण फेला परेको पुष्टि भएको छैन। तर केही विज्ञहरू त्यसप्रति शङ्का व्यक्त गर्छन्।उत्तर कोरियाको सीमा कोरोनाभाइरस सङ्क्रमणको प्रकोप खेपिरहेका चीन र दक्षिण कोरियासँग जोडिएको छ।

उडान  स्थानीय समायानुसार बिहान ८स्४० बजे प्योङ्‌याङबाट उडेको र भ्लादिभोस्तिकमा १०स्४७ मा अवतरण गरेको विवरण फ्लाइटअवेअर वेबसाइटले प्रकाशित गरेको छ।उक्त विमानमा कम्तीमा ६० कूटनीतिज्ञ र कूटनीतिक नियोगका कर्मचारीहरू भएको बताइन्छ। उनीहरू कसरी र कहिले आफ्नो देश जान्छन् भन्ने स्पष्ट छैन।

बिबिसी नेपालिबाट

प्रकाशित मिति : फाल्गुन २६, २०७६ सोमबार  ६ : ४१ बजे