प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रबार बसेको बैठकले जिटुजी मोडेलबाट फ्रान्ससँग सेक्युरिटी प्रिन्टर खरिद गर्ने प्रक्रिया रद्द गर्न सरकारलाई निर्देशन दिएको छ।लागत बढाएर ठूलो आर्थिक अनियमिताको चलखेल भएको भन्दै समितिले उक्त प्रक्रिया रद्द गर्न निर्देशन दिएको हो।
समितिका सांसदहरूले जिटुजी प्रक्रियाबाट हुने सबै खरिद प्रक्रिया खारेज गर्न सुझाव दिदै जिटुजीमार्फत् खरिद गर्दा ठुलो चलखेल हुने भएकाले प्रतिस्पर्धामार्फत् मात्रै खरिद गर्नुपर्ने धारणा राखेका थिए ।जिटुजीमार्फत् भएका खरिद प्रक्रिया एकपछि अर्को गर्दै आर्थिक अनियमिततामा मुछिन थालेको भन्दै अब उप्रान्त सबै खरिद प्रतिस्पर्धाबाट गर्नु पर्ने उनीहरूको धारणा थियो ।
समितिले पूर्वमन्त्री गोकुल बाँस्कोटाले मन्त्री पदमा रहँदा सेक्युरिटी प्रिन्टर खरिदका विषयमा कमिसनको मोलतोल गरेको अडियोबारे पनि सत्य तथ्य छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।जिटुजी मोडलबाट सरकारले सिधै सामान खरिद गर्ने विषय बढी विवादित भएकोले यसबारे अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडा र मुख्य सचिव लगायत जिम्मेबार पदाधिकारीसँग छलपफल गर्ने निर्णय पनि लेखा समितिको आजको बैठकले गरेको छ।
सेक्युरिटी प्रिन्टिङ खरिद प्रक्रियामा अनियमितता गर्न तत्कालिन संचार मन्त्री गोकुल बास्कोटानै लागेको सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए । सेक्युरिटी प्रिन्टिङ खरिद प्रक्रियामा तत्कालिन मन्त्री बास्कोटाले ७० करोड घूस मागेको अडियो सार्वजनिक भएको थियो ।








