नेपालमा कोरोना रोक्न पर्याप्त सावधानी अपनाइएको छ : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क देशहरु भाइरसको चुनौतीको सामना गर्न मिलेर अगाडि बढ्ने अवस्था बनेकोमा खुशी व्यक्त गर्दै  नोभेल कोरोना भाइरसविरुद्ध लड्‍न महत्त्वपूर्ण र सामयिक निर्णय लिएकोमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।

आज साँझ सार्क नेताहरुको भिडियो कन्फरेन्सलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो सामूहिक कदमले महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिन्छ ।’

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण हुन नदिन स्थानीय, प्रदेश र केन्द्र तहमा आवश्यक कदम चालिइसकेको बताए । अन्तर्राष्ट्रिय आवागमनमा कडाई गरिएको, भीसा बन्द गरिएको र तेस्रो देशबाट आवागमन बन्द गरिएको समेत बताए ।

कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी अस्पताल र स्वास्थ्य सेवीलाई तयारी अवस्थामा राखिएको समेत बताए । उनले भने, ‘स्वास्थ्यसेवीलाई सशक्त रुपमा तयारी अवस्थामा राखिएको छ । अन्तर्राष्ट्रिय सभा सम्मेलन बन्द गरिएको छ ।’

मृगौला प्रत्यारोपणपछि अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्री ओलीले पहिलोपटक सार्वजनिक रुपमा बोलेका हुन्

प्रकाशित मिति : चैत्र २, २०७६ आइतबार  १२ : ५२ बजे