टिपरले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएपछी तनाबग्रस्त बनेको पनौतीमा लगाएइएको कर्फ्यु हटाइएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मंगलबार राति ८ बजेदेखि लागु हुने गरी पनौतीमा लगाएको कर्फ्यू आदेश हटाएको हो ।
सोमबार अपरान्ह पनौतीको मानेश्वरी बसपार्कमा बा ५ ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा पैदलयात्रु खानीखोला गाउँपालिकाकी ३० वर्षीया जनिमाया गोले र उनकी छोरी ३ वर्षीया स्मारिका गम्भीर घाइते भएलगत्तै उनीहरुलाई उपचारका लागि शीर मेमोरियल अस्पताल पठाइए पनि उपचारका क्रममा मृत्यु भएको थियो ।
पनौती बसपार्कमा टिपरले ठक्करदिदा उनिहरुको ज्यान गएपछि आक्रोसित स्थानीय सोमबार दिउँसोदेखि नै प्रदर्शनमा उत्रिए पछी स्थानिय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो ।
त्यसक्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा पाँच जना प्रहरी र तीन जना सर्वसाधारण घाइते भएका थिए ।
जिल्ला सुरक्षा समितिको बैठकमा सहमती जुटे पछी कर्फ्यू हटाउने आदेश जारी गरेको बताइएको छ ।








