सामुदायिक वनमा गाईको हत्या



डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा ग्याविन तारले पासो लगाएर गाईको हत्या गरिएको छ । गाउँपालिका वडा नम्वर १ को देउपाल सामुदायिक वनको गैरी इजर भन्ने ठाउँमा करिब एक साताअघि गाईको हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान सुरू गरेको छ। ५ वटा गाई रुखमा झुण्ड्याइएको अवस्थामा र एउटा गाईको बङ्गारा भेटिएको छ भने गाई मार्नका लागि बनाइएको ग्याविन तारको दुईवटा खाली पासो भेटिएका छन्। मारिएका गाईहरू दुई वर्ष्भित्रका रहेको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र डडेल्धुराका पशुसेवा प्राविधिक शेरबहादुर थापाले जानकारी दिए। मरेका गाईहरुलाई स्याल, कुकुर तथा गिद्धले समेत खाएको अवस्थामा देखेपछि स्थानीयको जानकारीको आधारमा घटना बिहीबार सार्वजनिक भएको हो।

गाईलाई मार्ने उदेश्यले ग्याविन जालीको तारले वााधेर छोडेकाले गाईले खाना,पानी नपाएर मरेको वडा नम्वर १ का वडा अध्यक्ष चेतराम भटट्ले वताउँनु भयो । गाईको हत्या गर्नेको खोजी गरेर कारवाहीको दायरामा ल्याउने पर्ने समेत अध्यक्ष भटट्ले माँग गर्नु भएको छ ।

गाईलाई कसले र किन पासो लगाएर मारेको हो भन्ने विषयमा भने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ। घटनास्थलमा पुगेको प्रहरी टोलीले ७ वटा गाईको पासो लगाएर हत्या गरिएको प्रारम्भिक अनुमान गरेको छ। बिहीबार बिहान स्थानीय प्रशासन, प्रहरी, स्थानीय जनप्रतिनिधि, पशुसेवा प्राविधिक र सञ्चारकर्मीको टोलीले गौहत्या गरिएको क्षेत्रको स्थलगत निरीक्षणसमेत गरेका छन्। प्रहरीले सामूहिक गौहत्याको अनुसन्धान शुरु गरिएको र हत्यामा संलग्न व्यक्तिको खोजी थालिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

तराईका जिल्ला कैलाली र कञ्चनपुर वाट छाडा गाईगोरु ल्याएर डडेल्धुराका विभिन्न स्थानमा छोड्ने गरेका छन् ।

प्रकाशित मिति : चैत्र ६, २०७६ बिहिबार  ११ : १९ बजे