भारतका विभिन्न शहरबाट आएकाहरु सुदूरपश्चिमको प्रमुख सीमा नाका कैलालीको गौरीफन्टामा सोमबार राति देखि अलपत्र परेका छन् । सुरक्षाकर्मीले आउन नदिएको भन्दै मंगलबार बिहानै देखि उनीहरु नाराबाजी गरिरहेका छन् ।
कैलालीका सबै ठाउँ मंगलबार बिहानै ६ बजे देखि लकडाउनको अवस्था छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार करिब एक हजार भन्दा बढीको संख्यामा सुदूरपश्चिमको ९ वटै जिल्लाका बासिन्दाहरु त्यहाँ रोकिएका छन्।
बिहान उनीहरुले नेपाल आउन पाउनुपर्ने भन्दै नाराबाजी पनि गरेका थिए। अत्याधिक भीड भएकाले सुरक्षाकर्मीलाई सम्हाल्न सकस भएको छ। कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशीका अनुसार जिल्ला प्रशासन र मुख्यमन्त्रीले उनीहरुलाई के गर्ने भन्ने बारेमा गृह मन्त्रालय संग समन्वय गरिरहेका छन्।
तेस्तै कैलालीको त्रिनगरमा सुरक्षाकर्मी र सर्वसधारणबीच झडप भएको छ। भारतबाट आएका नेपाली जबरजस्ती नेपाल प्रवेश गर्न थालेपछि कैलालीको त्रिनगर गौरीफन्टा नाकामा झडप भएको त्यहाँको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सशस्त्र प्रहरी बल मुख्यालयका प्रवक्ता प्रवीण श्रेष्ठका अनुसार सीमा क्षेत्रबाट नेपाल छिर्न खोजेपछि उनीहरुलाई सशस्त्र प्रहरीले रोकेको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि सामान्य झडप भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।










