काठमाडौं । कोरोना भाइरससँग जुधिरहेकी जेम्स बन्ड नायिका ओल्गा कुलिलेंकोले अब आफू पूर्ण रुपमा ठिक भएको जानकारी दिएकी छिन् । ओल्गाले इन्स्टागा्रममार्फत् यसबारे जानकारी दिएकी हुन् । उनले १५ मार्चमा सोसल मिडियमार्फत् आफ्नो संक्रमणबारे खबर गर्दै नायिका अस्पताल गइनन् ।
आइसोलेशनमा बसिरहेकी ओल्गाले समय–समयमा सोसल मिडियामार्फत् आफ्नो स्वास्थ्यबारे जानकारी पनि दिइरहेकी थिइन् । उनले लेखिन्, ‘म पूर्ण रुपमा स्वस्थ भएकी छु । फेरि बताउने हो भने एक हप्ता मलाई असाध्यै गाह्रो भयो किनभने मलाई उच्च ज्वरो आउँथ्यो र टाउको धेरै नै दुख्ने भएकाले धेरैजसो समय सुतेर नै बिताउँथे । दोस्रो हप्तामा मेरो ज्वरो हरायो तर हल्का कफ र धेरै थकान रह्यो ।’
उनले थपिन्, ‘दोस्रो हप्ताको अन्त्यमा म पूर्ण रुपमा ठिक भए । कफबाट पनि राहत पाएँ । अब म आफ्नो छोरासँग समय बिताइरहेकी छु ।’ नायिकाले आफ्नो प्रशंसकलाई इन्स्टा पोस्टमार्फत् धन्यवाद पनि दिएकी छिन् ।
४० वर्षकी ओल्गा टम क्रुजसँग फिल्म ‘ओब्लिवियन’ र सन् २००७ मा रिलिज भएको फिल्म ‘हिटम्यान’ मा महत्वपूर्ण भूमिका निभाइसकेकी छिन् । उनले हालै ‘द बे अफ साइलेन्स’ को काम पूरा गरेकी छिन् । नायिकाबाहेक ओल्गा निर्माता र लेखिका पनि हुन् ।










