पाँचौं संक्रमित युवती रातिनै अस्पताल भर्ना, अवस्था सामान्य



काठमाडौं । बाग्लुङकी घर भएकी पाँचौं कोरोना संक्रमित युवती शनिबार राति अस्पताल भर्ना भएकी छिन्। संक्रमित युवतीलाई राति साढे ११ बजेतिर धौलागिरी अञ्चल अस्पतालमा भर्ना गरिएको हो । युवतीको अवस्था सामान्य रहेको छ।

पोखराबाट सरूवा रोग विशेषज्ञको टोली आजै धौलागिरी अञ्चल अस्पतालमा जाने र अस्पतालमा आइसियू र भेन्टिलेटर नै नभएको भन्दै विशेषज्ञको टोली आएपछि विरामीलाई के गर्ने भन्ने टुंगो लाग्ने भएको हो ।

युवतीका परिवारका अन्य ७ जना सदस्य पनि होम क्वारेन्टाइनमै बसिरहेका छन्।

गत चैत ४ गते युवती बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी थिइन्। सोही जहाजमा सँगै आएकी अर्की कोरोना संक्रमित युवतीको हाल टेकु अस्पतालमा उपचार भइरहेको छ।

बाग्लुङकी संक्रमित युवती नेपाल आएकै दिन यति एअरको जहाजबाट पोखरा पुगेकी थिइन् र त्यहाँबाट स्कार्पियो चढेर बाग्लुङ पुगेकी थिइन्।

प्रकाशित मिति : चैत्र १६, २०७६ आइतबार  ४ : १३ बजे