सर्लाहीमा कोरोनाको संक्रमण छैन : प्रजिअ जिसी 



विश्वव्यापी रुपमा महामारीको रुप लिएको कोरोना(कोभिड–१९)बाट सर्लाही सुरक्षित भएको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताउनु भएको छ ।

बुधवार लालबन्दी नगरपालिका प्राङ्गणमा आयोजित एम्वुलेन्स चालकहरुका लागि पर्सनल प्रोटेक्टिभ ईकुपमेन्ट(पिपिई) वितरण कार्यक्रममा सम्बोधन गर्दै प्रजिअ जिसीले चैत्र ४ गते त्तच्टछघ बाट आएका मध्ये सर्लाहीका चार जनाको अवस्था सामान्य भएको र उहाँहरुको रिपोर्ट नेगेटिभ आएकोले सर्लाही कोरोनाबाट सुरक्षित भएको बताउनु भयो । कोरोनाका जोखिम नियन्त्रणका लागि जिल्लाका विभिन्न पालिकाहरुमा १६७ ओटा क्वारेण्टाईन वार्ड स्थापना गरिएको भए पनि आईसोलेसन कक्ष भने एउटा पनि स्थापना गर्न नसकिएको बताउनु भयो ।

“जिल्लामा कसैलाई पनि कोरोना संक्रमण छैन तर शंकास्पद रुपमा २३ जना विरामीलाई क्वारेण्टाईनमा राखिएको छ,”– प्रजिअ जिसीले भन्नु भयो । उहाँले जिल्लाबाट संक्रमणको आशंकामा पठाइएका सामान्य ज्वरो आएका विरामी समेत जनकपुर तथा विरगंजका अस्पतालहरुले फिर्ता गरेको भन्दै त्यस्ता अस्पतालहरुलाई कार्वाही हुनु पर्ने बताउनु भयो । लक डाउनका कारण सिर्जना हुन सक्ने भोकमरीका लागि तयार रहन उहाँले सवै पालिकाहरुलाई निर्देशन दिनु भयो ।

उहाँले सरकारले जारी गरेको लक डाउनको कडाईका साथ पालना गराउन प्रशासन कटिवद्ध रहेको बताउनु भयो । उहाँले लक डाउनको अवज्ञा नगर्न समेत जिल्लावासीमा अपिल गर्नु भयो । लक डाउन भनेको लक डाउन हो, सरकारले जनताको जीवन रक्षाका लागि लागू गरेको लक डाउनको कसैले पनि उलंघन गरे प्रचलित कानून वमोजिम कार्वाही गरिने बताउनु भयो ।

उहाँले लक डाउनको समयमा अत्यावश्यक सेवा वाहेकका सवै सवारी नचलाउन आग्रह गर्नु भयो ।

प्रकाशित मिति : चैत्र २०, २०७६ बिहीबार  ८ : २७ बजे