नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।
यस अघिका दोस्रो, पाँचौ र हाल पुष्टी भएका छैठौं संक्रमित कतारबाट एउटै प्लेनमा आएका बताइएको छ।
स्वास्थ्य मन्त्रालयले नियमित रुपमा आयोजना गर्ने प्रेस मिटमा मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले नेपालमा छैठौं कोरोना संक्रमित भेटिएको पुष्टि गरेका हुन् ।
‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा एउटा पोजेटिभ आएको छ’,उनले भने,‘ यो छैटौं केस हो, यो पनि क्युआर ६५२ फ्लाइटबाट दोहाबाट काठमाडौं आएकोमा देखिएको हो।’
देवकोटाले कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पनि पुष्टि गरे ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ पुगेको छ।
प्रवक्ता डा.देवकोटाका अनुसार नेपालमा बिहीबार सवा ४ बजेसम्म ११८४ जनाको कोरोना परीक्षण भइसकेको छ। ४३ जनाको विभिन्न प्रयोगशालामा भइरहेको छ।








