एजेन्सी। बलिउडका सदाबहार अभिनेता इरफान खानको बुधबार दिउँसो ३ बजे मुम्बईमा अन्तिम संस्कार गरियो । यो मौकामा उनका दुई छोरा अयान र बाबिलबाहेक परिवारका केही सदस्य र नजिकका साथीको मात्रै उपस्थिती रह्यो । भारतीय मिडिया रिपोर्टका अनुसार उनलाई अस्पतालबाट सिधै चिहान लगिएको थियो । उनले बुधबार बिहान मुम्बईस्थित कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा अन्तिम सास फेरे ।
सास जानुअघि आमालाई सम्झिएः
सेलिब्रिटी फोटोग्राफर विरल भयानीको पोस्ट अनुसार इरफान खानको सास जानुअघि उनले ‘आमा लिन आउनुभएको छ’ भनेका थिए । उनकी ९५ वर्षीया आमा सईदा बेगमको शनिबार निधन भएको थियो । लकडाउन र स्वास्थ्यमा समस्या भएपछि उनी आमाको अन्तिम श्रद्धाञ्जलीमा उपस्थित हुन सकेनन् । इरफानले भिडियो कलमार्फत् आमालाई अन्तिम पटक हेरेका थिए ।










