काठमाडौं । ‘डकडाउन कहिले खुल्छ ? त्यसपछि फेरि बन्द हुँदैन नि ?’ लाजिम्पाटको इन्क्लुसिफ ग्यालेक्सी रेस्टुरेन्टमा भेटिएकी आयना लामा (परिवर्तित नाम)ले सोधिन् । २६ वर्षीया आयना तेस्रोलिंगी हुन् । उनी पेसाले नृत्यांगाना हुन् । तर, लकडाउनसँगै रोजगारी बन्द भएको छ, कमाई छैन ।
लाजिम्पाटमै कोठा भाडा लिएर पार्टनरसँग बस्दै आएकी आयनाले भनिन्, ‘लकडाउनको पहिलो सातामै खाद्यान्न सकियो । साथीहरूको कोठामा गएर पेट पालिरहेको छु,’ उनले बाध्यता सुनाइन्, ‘लडकाउन खुले त काम गरेर पेटभर खान पाइन्थ्यो ।’
सिन्धुपाल्चोक घर बताउने ज्वाला थापा (नाम परिवर्तन) को समस्या पनि आयनाको भन्दा फरक छैन । स्टेजमा नृत्यु देखाएर जीविका चलाउने थापा भन्छन्, ‘कोठामा रासन छैन, कसरी बाँच्ने ?’ आफूलाई सेक्स वर्कर भनेर चिनाउने सुष्मा रिजाल (नाम परिवर्तन) पनि आफ्नोमा खाद्यान्न सकिएपछि साथीहरूको कोठामा जाने गरेकी छिन् । ट्रान्सजेन्डर सुष्मा भन्छिन्, ‘बाहिर निस्कन पाएको छैन । खाना खान पनि साथीकोमा जानुपर्छ, पैसा छैन, तनाव छ ।’
लाजिम्पाट क्षेत्रमा करिब दुई सयजति तेस्रोलिंगी बसोवास गर्छन् । उनीहरू सबै साझा समस्यासँग जुधिरहेका छन् । आफ्नोमा खाद्यान्न सकिएपछि साथीकोमा जान पनि सजिलो छैन । कोठाबाहिर निस्किए घरबेटीले गाली गर्छन् । कतिपय घरबेटीले त मूलगेटमै ताल्चा लगाइदिने गरेका छन् । ट्रान्सम्यान सुदीप गौतम भन्छन्, ‘साथीहरूकोमा खाना खान गयो, फर्केर आउँदा घरबेटीले चुकुल लगाइदिन्छन् । गत बिहीबार त बिहानै घरबेटीले गेटमा ताल्चा लगाइदिए । धेरै अनुनय गरेपछि मात्रे बाहिर जान दिए, नत्र भोकै भइन्थ्यो ।’
भोको पेटमा घरबेटीको गाली सुन्नुपर्दा झन् तनाव हुने बताउँछिन् ट्रान्सवुमन कृति गुरुङ । गुरुङ भन्छिन्, ‘कति बाहिर–भित्र गरेको भनेर गाली गर्छन् । तर, के गर्ने पेट भर्न भए पनि साथीहरूको कोठामा जानैपर्छ ।’
खान नै समस्यामा परेका तेस्रोलिंगीहरूले कोठाभाडा तिर्न सक्ने सम्भावनै रहेन । सरकारले घरबेटीलाई भाडा मिनाह गरिदिन आग्रह गरेपछि उनीहरूलाई राहत महसुस भएको थियो । तर, यथार्थ त्यस्तो भएन । भाडा नतिरे घरबाट निस्किन चेतावनी आएको गुनासो उनीहरूको छ । ‘एउटा कोठाको सात हजार भाडा छ । भाडा जसरी पनि दिनुपर्छ भनेर कराइरहेका छन्,’ सुष्मा रिजालले भनिन्, ‘नदिए त पक्कै घरबाट निकाल्छन् होला, तर कहाँबाट पैसा ल्याएर दिने ?’
लकडाउन खुलेपछि काम गरेर भाडा तिर्छुभन्दा पनि घरबेटीले नमानेको ज्वाला थापाको गुनासो छ । ‘दुईचोटि भाडा मागिसके, अहिले काम छैन, पछि दिन्छु भन्दा पनि मानेका छैनन्,’ उनले भने । कृति गुरुङलाई पनि घरबेटीले पूरै तिर्न नसके आधा भए पनि भाडा बुझाउन अत्याएका छन् । ‘भएको पैसा खाद्यान्न किनेरै सकियो । आधा भए पनि कोठाभाडा ल्याऊ भनेकोभन्यै छन्,’ गुरुङले भनिन्, ‘खानै मुस्किल भइरहेको वेला भाडा कसरी तिर्नू ?’
नागरिकता नहुँदा स्थानीय तहले दिने राहतमा विभेद
लकडाउनमा दैनिक ज्यालादारी र मजदुरी गरेर जीविका चलाउनेलाई स्थानीय सरकारले राहत वितरण गरिरहेको छ । तर, नागरिकता नभएर राहत बुझ्न नपाएको मजदूरका गुनासा आइरहेका छन् । यस्तै गुनासा तेस्रोलिंगी समुदायको पनि छ । अधिकांश तेस्रोलिंगीसँग नागरिकता छैन । महामारीको यो विश्व संकटको समयमा पनि आफूहरूमाथि नागरिकताको नाममा विभेद गरिएको उनीहरूको भनाई छ ।
आकाश ९परिवर्तित नाम०सँँग नागरिकता थिएन । तर, उनका पार्टनरसँग भने नागरिकता थियो । राहत वितरण गरेको थाहा पाएपछि पार्टनर र उनी राहत लिन गए । ‘राहत सकियो भन्दै हामीलाई दिइएन,’ आकाश भन्छन्, ‘तर, हामीलाई सकियो भनेपछि पनि अरूलाई दिइरहेको थियो ।’ आयना लामा र उनका पार्टनरसँग नागरिकता छैन । नागरिकता नभएकै कारण उनीहरूले राहत पाएका छैनन् । ‘नागरिकता ल्याऊ भन्छन्, हामीसँग नागरिकता छैन,’ लामाले भनिन् । सामान्य समयभन्दा संकटको समयमा आफूहरूमाथि विभेद बढेको बताउँछन् ज्वाला थापा । उनी भन्छन्, ‘अरू वेला पनि विभेद त गर्थे नै । अहिले त झन् बढी विभेद गर्न थालेका छन् ।’
नागरिकता भएका तेस्रोलिंगीमाथि नै भएको चरम विभेद सुनाउँछन् विश्वराज अधिकारी । उनी लाजिम्पाटको इन्कलुसिफ ग्यालेक्सी रेस्टुरेन्टका सञ्चालक हुन् । ‘मैतीदेवीमा वीरगन्ज घर भएका साथी थिए । उनको नागरिकताको लिंग शीर्षकमा ‘अदर’ लेखिएको थियो । ‘अदर’ लेखिएकै कारण उनलाई राहत दिइएन । यहाँ बस्न नसकेपछि उनी हिँडेरै घर गए,’ विश्वराजले भने ।
राज्य संयन्त्रले राहतमा विभेद गरेपछि तेस्रोलिंगी समुदायकै मान्छेहरू मिलेर विभिन्न संघसंस्थासँग हारगुहार गरी केही दिनलाई पुग्ने राहत जम्मा गरेका छन् । तर, उक्त राहत सबैलाई नपुगेको बताउँछिन् रिया बोहोरा ।
औषधि लिन जान पनि समस्या
२७ वर्षीय सुदीप गौतम ट्रान्सम्यान हुन् । पार्टनरसँग बसिरहेका गौतमले निरन्तर हर्मन लिइरहेका थिए । तर, लकडाउनका कारण उनले हर्मन लिन पाएका छैनन् । ट्रान्सम्यानले सुईबाट हर्मन लिन्छन्, ट्रान्सवुमनले हर्मनयुक्त औषधि खान्छन् । डाक्टरले तोकेको समयमा हर्मन लिन नपाउँदा स्वास्थ्य समस्या देखिएको बताउँछन् सुदीप । ‘छिटोछिटो रिस उठ्ने, जिउ र ढाड दुख्ने समस्या हुन थालेको छ । कतिखेर त मर्छु कि जस्तो लाग्छ,’ उनले भने । समयमै हर्मन लिन नपाउँदा कतिपय तेस्रोलिंगीमा डिप्रेसनको समस्या देखिएको विश्वराजले बताए । ‘कति साथीहरू त डिप्रेसनमा गएका छन् । मर्छु भन्दै म्यासेज गर्छन्, हात काट्न थालेका छन्,’ उनले भने ।
यसबाहेक एचआइभी संक्रमितहरूले नियमित औषधि सेवन गर्न पाएका छैननन् । एचआइभी संक्रमितले औषधि लिन टेकु अस्पताल वा वीर अस्पताल जानुपर्छ । ‘टेकुमा अहिले अरू औषधि पाइँदैन,’ सुदीप भन्छन्, ‘वीर अस्पतालसम्म पनि प्रहरीले जान दिएको छैन ।’ यसबाहेक आर्थिक अभावले महिनावारी हुँदा लगाउने स्यानिटरी प्याडसमेत किन्न नसकेको बताउँछन् उनीहरू । ‘चार घन्टाभन्दा बढी लगाउन नमिल्ने स्यानिटरी प्याड दुई दिनसम्म लगाउनुपरेको छ, कतिले त खाने पैसा नभएर त्यो पनि किन्न सकेका छैनन्,’ सुदीपले भने ।
एक्लिएका तेस्रोलिंगी
सामान्य अवस्थामै समेत विभेदको सामना गर्ने तेस्रोलिंगी समुदायले कोरोना महामारीमा थप विभेदको सामना गर्नुपरेको छ । राहतमा विभेद, घरबेटीको कहर, स्वास्थ्य समस्या, भोको पेटमा परिवारको पनि साथ नपाउँदा आफूहरू एक्लिएको बताउँछन् तेस्रोलिंगी । ३० वर्षीया वर्षा (परिवर्तित नाम)लाई लकडाउनले कोठामा एक्लै थुनिनुपरेपछि आफ्नो मान्छे कोही छैन जस्तो लाग्न थालेको छ । वर्षा भन्छिन्, ‘हामीलाई कसैले हेर्दैन । आफ्नो मान्छे कोही छैन जस्तो हुन्छ । यस्तै हो, हाम्रो जीवन ।’
लकडाउनले काठमाडौंमा एक्लिएकी रिजाललाई वेलावेला घर जाऊँ जस्तो लाग्छ । तर, घरमा समेत आफ्नो सम्मान नहुने थाहा पाएकी उनी घर पनि जान सक्दिनन् । ‘घर जान पाएको भए त हुन्थ्यो जस्तो लाग्छ, तर घरमा पनि अब उस्तै त हो नि,’ रिजाल भन्छिन् । परिवार र समाजसँग नजिक नहुने तेस्रोलिंगी समुदाय कोरोना कहरसँग एक्लै–एक्लै संघर्ष गरिरहेको छ । अधिकांश तेस्रोलिंगीका परिवारलाई उनीहरूको पहिचान थाहा छैन । त्यसैले पनि उनीहरू परिवारबाट टाढा बस्न खोज्छन् । संकटको वेला परिवारको न्यास्रो लाग्ने गरेको बताउँछन् विश्वराज अधिकारी । लकडाउन बढ्यो भने त मानसिक तनाव झन् बढ्ने हो कि भन्छन् थापा । ‘यो लकडाउन बढ्यो भने त म त पागलै हुन्छु होला । राहत छैन । पानी किन्नेसमेत पैसा छैन,’ उनले भने । उनी अहिले तेस्रोलिंगीले भोगिरहेको विभेदलाई कोरोनाभन्दा खतरनाक मान्छन् । भन्छन्, ‘हामीले भोगिरहेको यो विभेद कोरोनाभन्दा खतरनाक छ ।’, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।