पहिले डिस्चार्ज भइसकेका तीनजनामा यसरी देखिएको रहेछ कोरोना



काठमाडौं । नेपालमा दुई महिनाको शिशुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि नेपालगन्जमा सात वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको थियो । बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा दुई महिनाको शिशुसहित १७ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले पर्साका १७ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या ९९ पुगेको जानकारी दिए । बुधबार थपिएकामा सात महिला र १० पुरुष छन् ।

यसअघि निको भएर घर गएकामध्ये तीनजनाको पुनः पिसिआर परीक्षण गर्दा कोरोना भाइरसको जीवाणु जीवित रहेको पाइएको छ ।

फलोअप परीक्षणमा पिसिआर विधिबाट परीक्षण गर्दा ११ वैशाखमा घर गएका पेप्सीकोलाका ५८ वर्षीय पुरुष, १४ वैशाखमा डिस्चार्ज भएका रौतहटका १९ वर्षीय र ४४ वर्षीय पुरुषमा पुनः कोरोनाको संक्रमण देखिएपछि उनीहरूलाई अस्पताल भर्ना गरिएको छ ।

रौतहटका दुईजनालाई नारायणी अस्पताल वीरगन्ज र पेप्सीकोलाका पुरुषलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।

हालसम्म संक्रमित हुनेहरू दुई महिनादेखि ८१ वर्ष उमेर समूहका छन् । संक्रमित हुनेमा पुरुष ७१ र महिला २८ जना छन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीर अधिकारीका अनुसार प्रदेश १ मा ३१, प्रदेश २ मा ३०, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा दुई, प्रदेश ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा पाँचजना संक्रमित देखिएका छन् ।

कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमित देखिएका छैनन् । बुधबारसम्म आरटी पिसिआर परीक्षण १४ हजार ९६ र आरडिटी परीक्षण ५२ हजार नौ सय ७० जनाको गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये विराटनगरमा उपचाररत ६ जना बुधबार डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २२ पुगे पनि तीनजनामा पुनः संक्रमण देखिएपछि अस्पताल भर्ना भएका छन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पुनः संक्रमण हुँदा जोखिम कम हुने बताए ।

‘यो नयाँ व्यक्तिबाट सरेको होइन, उनीहरूको शरीरमा भाइरस बाँकी नै छ भन्ने देखियो, तर अब पहिलाजस्तो डराउनुपर्ने अवस्था छैन,’ उनले भने । तीनजनाबाट अरूमा सर्ने अवस्था नभए पनि सचेत भने बन्नुपर्ने डा। पुनको भनाइ छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार  ३ : ०० बजे