काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि समय तालिका (टाइम कार्ड) लागू गरेर तोकिएको समयमा मात्र सवारीसाधन सञ्चालन गर्न दिइने भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले निर्माण सामाग्री बोकेका ठूला सवारीसाधन उपत्यका भित्र राति ८ बजेदेखि ६ बजेसम्म प्रवेश गरिसक्नुपर्ने समय तोकिएको बताएका छन् । अन्य समयमा भने सञ्चालनमा रोक लगाउने निर्णय भएको पनि उनले जानकारी दिए ।
“बैंक, वित्तीय संस्थाका कर्मचारीहरू फर्किँदा दिउँसो साढे ३ देखि साढे ५ बजे सम्म फर्किसक्नुपर्छ”, उनले भने, “सरकारी कार्यालयको हकमा भने बेलुका ५ देखि ६ बजेको समय निर्धारण गरिएको छ।” तरकारी, फलफूल, खाद्यान्न, इन्धन लगायतका अत्यावश्यक सवारीसाधन बिहान १० बजेसम्ममात्रै सञ्चालन हुन पाउने छन्।
पानी, स्वास्थ्यसम्बन्धी अत्यावश्यक क्षेत्रका सवारीसाधनका हकमा भने समय निर्धारण गरिएको छैन।








