काठमाडौं । सरकारले जारी गरेको लकडाउनलाई अझै कडाइ गर्ने भएको छ । लकडाउनलाई कडा बनाउन गृह मन्त्रालयले सबै जिल्ला प्रशासनलाई निर्देशन दिइसकेको हो ।
गृहमन्त्रालयले यसअघि जारी गरेका सबै पासहरुलाई आजदेखि लागु हुनेगरि रद्ध गर्दै अब बिरामी भएका व्यक्ति र मृत्यु संस्कारमा जाने बाहेकका काममा एउटा जिल्लाबाट अर्को जिल्ला जान नपाइने भएको छ । एउटा जिल्लाबाट अर्को जिल्लामा जानबाट रोक्नैका लागि झन्झटिलो प्रक्रिया बनाइएको गृहको भनाइ छ।
‘हामीले लकडाउनलाई कडाई गर्न खोजेकै हो। त्यही भएर अब गृहको अनुमतिबिना एउटा जिल्लाबाट अर्को जिल्ला जाने पास नदिन भनिएको हो’, गृह मन्त्रालयका सह प्रवक्ता उमाकान्त अधिकारीले भने, ‘संक्रमण फैलिदै गएको छ। यस्तोबेला सिडिओलाई दबाब दिएर हिडडुल गर्ने प्रवृत्तिलाई समेत रोक्न खोजिएको हो।’
गृहले अत्यावश्यक क्षेत्रका सवारी साधनहरुका लागि भने अनुमति पत्र नचाहिने स्पष्ट पारेको छ। तर त्यस्ता ठाउँमा काम गर्नेहरुले सम्बन्धित संस्थाहरूको परिचयपत्र अनिवार्य बोक्नुपर्नेछ।
पत्रकारको हकमा भने सूचना विभागबाट जारी गरिएको अनुमति पत्र जरुरी पर्ने गृहले जनाएको छ।








