इजरायलका लागि चिनियाँ राजदूत दु वेई मृत फेला परेका छन् । इजरायलको तेल अबिवस्थित आफ्नो आवासमा उनको शव फेला परेको स्थानीय सञ्चारमाध्यम र प्रहरीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । उनको मृत्युको कारण अझै खुल्न सकेको छैन ।
५८ वर्षीय वेई ओछ्यानमा सुतिरहेको अवस्था मृत फेला परेका हुन् । उनी गत फेब्रुअरीमा इजरायलका लागि राजदूत नियुक्त भएका थिए । त्यसअघि उनी यूक्रेनमा कार्यरत थिए । राजदूतको श्रीमती र एक छोरा रहेपनि दुवै जना इजरायल बाहिर छन् । इजरायली प्रहरीका प्रवक्ताले रोयर्टससँगको कुराकानीमा नियमित प्रकृया अपनाउन प्रहरी घटनास्थलमा रहेको बताएका छन् ।
अमेरिकी स्टेट सेक्रेटरी माइक पम्पियो बिहिबार इजरायलको भ्रमण गर्दा कोरोनाभाइरस महामारीबारे चिनियाँ नीतिको आलोचना गरेका थिए । पम्पियोको आलोचनामाथि इजरायलस्थित चिनियाँ दूतावासले शाब्दिक आक्रमण गरेको थियो । पोम्पियोको भाइरसको सङ्क्रमणबारे चीनले ढाकछोप गरेको टिप्प्णीको दूतावासले निन्दा गरेको थियो ।










