कोरोनाको उच्च जोखिममा काठमाडौं उपत्यका,संक्रमित जिल्लाबाट हजारौं भित्रिए



काठमाडौं । लकडाउनको समयमा विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका भित्रिएकाहरू क्वारेन्टाइनबाहिरै रहँदा उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिम देखिएको छ । सरकारले गत ११ चैतदेखि गर्दै आएको बन्दाबन्दी (लकडाउन)को समयमै विभिन्न ढंगबाट काठमाडौं उपत्यकामा संक्रमित जिल्लाबाट हजारौं व्यक्ति भित्रिएको पाइएको छ । ती व्यक्ति क्वारेन्टाइनबाहिर नै रहेको र कतिपयमा चेकजाँचका क्रममा कोरोना संक्रमण भएको पाइएको छ ।

गत बिहीबारसम्म लकडाउनमा प्रमुख जिल्ला अधिकारीले जारी गर्ने पासका आधारमा एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्न पाइएको थियो । त्यस समयमा निजी सवारीमार्फत सयौं व्यक्ति काठमाडौं उपत्यका भित्रिएको पाइएको हो ।

नागढुंगाका एक स्थानीय महिलाका अनुसार वैशाख अन्तिम साता मात्र उपत्यका बाहिरबाट करिब सात वटा रिजर्भ बसमा काठमाडौं उपत्यकामा मानिस भित्रिएका छन् । नागढुंगामा प्रहरीको चेकजाँच हुने भएपछि नजिकै उनीहरूलाई छाडिएको र उनीहरू पैदलमार्ग हुँदै काठमाडौं उपत्यमा भित्रिएको उनले राजधानीलाई जानकारी दिइन् ।

गत वैशाख दोस्रो साता उपत्यकामा अलपत्र परेका तथा गाउँ फर्किन चाहनेहरूका लागि राजनीतिक पहुँचका आधारमा गाउँ पठाइएको थियो । ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत र नेताहरूले दर्जनौं गाडी रिजर्भ गरेर उपत्यकाबाट मान्छे पठाएका थिए । लकडाउनको बिचैमा तीन दिन भीडभाड लागेको थियो भने केन्द्र सरकारले आँखा चिम्लिदिएको थियो । सोही समयमा उपत्यकामा थुप्रै व्यक्ति भित्रिएको उपत्यका छिर्ने नाकाका स्थानीय बताउँछन् ।

राजनीतिक पहुँचका आधारमा वैशाख अन्तिम सातासम्म थुप्रै व्यक्ति काठमाडौं उपत्यकामा भित्रिएको पाइएको छ । यसरी उपत्यका भित्रनेहरू क्वारेन्टाइन नबसी सिधै आफ्नो कोठामा पुग्ने गरेका थिए । तीमध्ये कतिपयले आफ्नो स्वास्थ्य चेकजाँच गराउँदा कोरोना संक्रमणको पुष्टिसमेत भएको छ ।

पछिल्लो समय उपत्यकाका स्थानीय तह तथा वडाहरूले कोरोना परीक्षण गरेर मात्र घरभित्र पस्न निर्देशन जारी गरेका छन् । चन्द्रागिरी नगरपालिका प्रमुख घनश्याम गिरीले उपत्यका बाहिरबाट आएकाबाट जोखिम बढेकाले सबै तथ्यांक संकलन गरेर आरडीटी जाँच सुरु गर्न लागिएको बताए । ‘हाम्रो नगरपालिकामा १५ सय जति पुग्ने रहेछन् । अरू नगरपालिकामा पनि थुप्रै भित्रिएका छन्,’ उनले राजधानीसँग भने, ‘हाम्रो नगरभित्रको आरडीटी चेक सोमबारदेखि सुरु गर्छौं ।’

यता, प्रहरी प्रशासनले काठमाडौं उपत्यका भित्रनेहरूमाथि २३ वैशाखदेखि मात्र कडा निगरानी सुरु गरेको थियो । बाहिरी जिल्लाबाट उपत्यका भित्रनेको संख्या बढ्दो रहेको र त्यसबाट संक्रमणको जोखिम देखिएपछि गृह मन्त्रालयले उपत्यका भित्रने तथा बाहिरिन नदिन पछिल्लोपटक कडाइ गरेको छ भने एक जिल्लाबाट अर्को जिल्ला जाने पासमा समेत कडाइ गरेको छ ।

सरकारले बाहिरी जिल्लाबाट उपत्यका भित्रने तथा एक जिल्लाबाट अर्को जिल्ला जाने क्रम बढेसँगै गत बिहीबारबाट लागू हुने यसअघि जारी भएका सबै किसिमका एक जिल्लाबाट अर्को जिल्ला जाने अस्थायी पास खारेज गरेको थियो ।

काठमाडौं उपत्यका भित्रँदा वा काठमाडौं उपत्यकाबाट बाहिरिँदा गृहको अनुमति अनिवार्य गरिएसँगै पछिल्लोपटक भने उपत्यका भित्रन पाएका छैनन् । तर, सरकारको निर्णय अघि नै उपत्यका छिरेकाहरूबाट भने उपत्यकामा उच्च जोखिम देखिएको छ ।

उपत्यका भित्रिएकामा कोरोना पुष्टि
गत ३० वैशाखमा भक्तपुरमा एक जना नर्समा कोरोना पुष्टि भयो । उनी सुनसरीबाट मोटरसाइकल चढेर २९ वैशाखमा उपत्यका भित्रिएको पाइएको छ । उनी उपत्यका भित्रिएपछि कुनै क्वारेन्टाइनमा नबसी भक्तपुरस्थित साथीको कोठामा बसेकी थिइन् । उनले कोरोना परीक्षण गराउँदा पोजेटिभ देखिएको थियो ।

यस्तै, चन्द्रागिरी नगरपालिका मच्छेगाउँमा बस्दै आएकी ३३ वर्षीया महिलामा पनि ३० वैशाखमा कोरोना पुष्टि भयो । उनी २९ गते कञ्चनपुर महेन्द्रनगरबाट काठमाडौं आएको पाइएको छ । उनी पनि उपत्यका भित्रँदा कुनै क्वारेन्टाइनमा बस्नु परेन । श्रीमान्ले कोरोना चेकजाँच गराउन सुझाएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

यसैगरी, चन्द्रागिरी नगरपालिका सतुंगल अमरबस्तीमा बसोबास गर्ने ३० वर्षकी संक्रमित पनि उपत्यका बाहिरबाट आएकी थिइन् । उनी लकडाउनमै काठमाडौंबाट धादिङ र धादिङबाट पुनः २७ जेठमा काठमाडौं आएको पाइएको छ ।

त्यस्तै, चन्द्रागिरी नगरपालिका–१० बस्दै आएका ७ वर्षीय बालकमा पनि ३ जेठमा कोरोना संक्रमण पुष्टि भयो । उनी पनि बुवा आमासहित २९ गते मकवानपुरबाट काठमाडौं आएको पाइएको छ । कुनै क्वारेन्टाइनमा बस्न नपरेको उनको परिवार कोठामा बसिरहेको बेला छिमेकीले वडामा खबर गरेपछि कोरोना परीक्षण गराउँदा पोजेटिभ देखिएको थियो ।

यी त कोरोना परीक्षण गराउँदा पोजेटिभ देखिएका केही उदाहरण भए पनि उपत्यका बाहिरबाट आएकाहरूको परीक्षण कम छ भने उनीहरु क्वारेन्टाइनमा नबस्दा जोखिम बढेको छ ।

आजबाट चन्द्रागिरीमा बाहिरबाट आउनेको परीक्षण
बाहिरी जिल्लाबाट उपत्यका भित्रनेहरूमा कोरोना पुष्टि देखिएपछि चन्द्रागिरी नगरपालिकाले आज ९सोमबार०देखि कोरोना परीक्षण सुरु गर्ने भएको छ । नगरप्रमुख गिरीले बाहिरी जिल्लाबाट आउनेहरू हजार बढी देखिएको र वडा वडाबाट तथ्यांक संकलन गरी सकेकाले आजदेखि कोरोना परीक्षण सुरु गरिने जानकारी दिए । उनका अनुसार १ हजार आरडीटी कीट ल्याइएको छ ।

चन्द्रागिरीले बाहिरी जिल्लाबाट आउनेको आरडीटी परीक्षण सुरु गरे पनि उपत्यकाका अन्य महानगर तथा नगरपालिकाले खासै चासो नदिएको पाइएको छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : जेष्ठ ५, २०७७ सोमबार  २ : ४१ बजे