नेपाली भूमि फिर्ता ल्याउन उच्चस्तरीय पहल थाल्न सरकारसग कांग्रेसको माग



नेपाली कांग्रेसले महाकाली पूर्वको भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन उच्चस्तरीय कूटनीतिक पहल गर्न माग गरेको छ ।
आज बसेको कांग्रेस पदाधिकारी बैठकले सरकारसग यस्तो माग गरेको हो ।

तेस्तै बैठकले संविधान संशोधनको बिषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले संविधान संशोधनको  बिषयमा पार्टीभित्र बिस्तृत छलफल गर्नका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता बिश्वप्रकाश शर्माले सरकारले संविधान संशोधन प्रस्ताव सदनमा प्रस्ताव गरेको भन्दै अव केन्द्रीय समिति बैठकबाटै संविधान संशोधनका बारेमा आधिकारीक धारणा तय हुने जानकारी दिए । त्यस्तै बैठकले नेपालको सीमा रक्षाका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाली भूमि फिर्ताका लागि उच्चस्तरिय कुटनीतिक र राजनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको प्रवक्ता शर्माले बताए । त्यस्तै बैठकले कोरोना संक्रमणबाट नागरिकलाई जोगाउन गम्भीर नभएको निष्कर्ष निकालेको छ ।

मुलुकभर कोरोना जाँचको दायरा बढाउन पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकले भारत लगाएत अन्य देशमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याई उपयुक्त स्वास्थ्य जाँचसहितको तयारी गर्न पनि सरकारको ध्यानाकर्षाण गराउने निर्णय गरेको छ ।

 

प्रकाशित मिति : जेष्ठ ११, २०७७ आइतबार  ३ : ५३ बजे