सञ्चार उद्योग र संचारकर्मीलाई राहत प्याकेजको घोषणा गर्न कांग्रेस सभापति देउवाको माग



कांग्रेसका सभापति शेर बहादुर देउवाले संकटको बेलामा समेत भ्रष्टाचार र अनियमितता उजागर गर्ने मिडियालाई अस्थिरता फैलायो भन्ने प्रधानमन्त्री केपी ओलीको भनाइप्रति असहमति जनाएका छन्।

नेपाल प्रेस युनियनको २९औ स्थापना दिवसको अवसरमा आयोजना भएको भर्चुअल बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले भ्रष्टाचार र अनियमितताका बारेमा संचार माध्यमले औंल्याएका गल्ती सच्याउँदै प्रधानमन्त्री अघी बढ्नेमा विश्वास व्यक्त गरे। सभापति देउवाले भ्रष्टाचारका बारेमा निडर भएर लेख्न आग्रह गर्दै आफू सधै संचारमाध्यम र संचारकर्मीको साथमा रहेको बताए।

सभापति देउवाले मिडियाको खबरदारीले नै लोकतन्त्र बलियो र संस्थागत हुने उल्लेख गर्दै मिडियालाई खबरदारीको भूमिका अझै बढाउन आग्रह गरे।

कोरोना महामारीका कारण देशको अर्थतन्त्र प्रभावित भएको बेलामा संचार क्षेत्र पनि प्रभावित भएको उल्लेख गर्दै देउवाले सरकारलाई संचार क्षेत्र र संचारकर्मी लक्षित राहत प्याकेजको घोषणा गर्न माग गरे।

को रोना प्रभावकै कारण संचारमाध्यम वन्द हुने अवस्था रहेको, विज्ञापन व्यवसाय धरासायी हुने अवस्थामा पुगेको र श्रमिजिवी पत्रकारहरु कैंयौ वेरोजगार हुने अवस्था देखिएको जनाउँदै देउवाले मिडिया उद्योग टिक्ने र संचारकर्मीहरुलाई मिडियामा टिकाउने गरि राहत प्याकेज ल्याउन माग गरे।

प्रकाशित मिति : जेष्ठ १३, २०७७ मंगलबार  ८ : २८ बजे