कांग्रेस सांसद मीनेन्द्र रिजालले सर्वदलीय बैठकहरुका निष्कर्ष वा निर्णय संसदलाई जानकारी गराउने परम्पराको सुरुवात गर्न सरकारलाई आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रिजालले यस्तो आग्रह गरेका हुन । उनले संसदीय गतिविधिसँग सम्बन्धित बैठक वा छलफलको निर्णयलाई पनि संवैधानिक ढंगले सार्वजनिक गरी संसदीय उत्तरदायित्व पूरा गर्न आग्रह गरे ।
प्रधानमन्त्रीले मंगलबार बोलाएको बैठकबाट संविधान संशोधन प्रस्ताव सबै दलको सहमतिमा छिटो पारित गर्ने निर्णय भएको सुनिएको भन्दै खुसी व्यक्त रिजालले भने ‘अहिलेसम्म यस्ता बैठकका निष्कर्ष सहभागी नेताले आआफ्ना दललाई जानकारी दिने चलन छ,त्यस्ता बैठक अझ विशेषत संसदीय गतिविधिसँग सम्बन्धित बैठकका निष्कर्ष सरकारको तर्फबाट प्रधानमन्त्री वा संसदीय मन्त्रीबाट संसदलाई जानकारी दिने परम्परा सुरु गरौं ।’
नेपाल राजनीतिक संक्रमणको चरणमा नरहेको र संविधानसम्मत राजनीतिक अभ्यास र परम्परा स्थापित गर्दै गरेको अवस्थामा सर्वदलीय छलफल र निष्कर्षको प्रत्यक्ष प्रसारणले अहिले र चिरकालसम्म नागरिकको जानकारीमा रहने उल्लेख गर्दै उनले नयाँ अभ्यास सुरु गर्न माग गरे ।








