प्रधानमन्त्रीले भनेअनुसार पीसीआर परीक्षण गर्न ६ महिनाभन्दा बढी लाग्‍ने



काठमाडौँ । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले कुल जनसंख्याको २ प्रतिशत अर्थात् ६ लाख व्यक्तिको पीसीआर परीक्षण गर्ने घोषणा गरेका थिए । जसका लागि कम्तीमा ७ लाख न्युक्लिक एसिड एक्स्ट्राक्सन किट, ७ लाख रिएजेन्ट, ७ लाख थान भीटीएम आवश्यक पर्छ । अहिले १२ हजार भीटीएम र ५० हजारवटा मात्र पीसीआर किट मौज्दात छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै कुल जनसंख्याको २ प्रतिशतको कोभिड–१९ परीक्षण गर्ने बताए पनि हालकै गतिमा गर्दा यसका लागि ६ महिनाभन्दा बढी लाग्ने देखिन्छ । उनले मुलुकको २ प्रतिशत जनसंख्या अर्थात् करिब ६ लाख नेपालीको कोरोना परीक्षण गरिने घोषणा गरेका थिए ।

‘परीक्षणको यो गतिले प्रधानमन्त्रीको सपना साकार हुँदैन,’ हाल सरदर दिनहुँ ३ हजार नमुनाको मात्र पीसीआर परीक्षण भइरहेको बताउँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी भन्छन्, ‘यही दरमा निरन्तर परीक्षण जारी रहने हो भने प्रधानमन्त्रीज्यूले भनेअनुसारको परीक्षण गर्न अझै २ सय दिन अर्थात् साढे ६ महिनाभन्दा बढी समय लाग्छ ।’

पीसीआर विधिबाट १० दिनयता (बुधबारसम्म) जम्मा ३१ हजार १ सय ७४ नमुनाको परीक्षण भएको छ । विज्ञहरूले परीक्षण गति नबढाए संक्रमणको गति रोक्न कठिन हुने सुझाएका छन् । बुधबार बेलुकासम्म पीसीआर विधिबाट ५८ हजार २ सय ७७ नमुनाको परीक्षण भएको छ ।

संक्रमणको विस्तार नियन्त्रण गर्न एक महत्त्वपूर्ण प्रक्रिया परीक्षण गरेर संक्रमितको पहिचान गर्नु हो । यसका लागि हाल मुलुकमा रहेका २० वटा कोभिड–१९ परीक्षण गर्ने प्रयोगशालाको संख्या बढाएर कम्तीमा एक सयवटा बनाउनुपर्ने मरासिनीको भनाइ छ । संक्रमणको विस्तार नियन्त्रण गर्न सके आगामी हिउँदमा आउन सक्ने कोरोनाको दोस्रो चरणको संक्रमणको जोखिम (सेकेन्ड वेभ) लाई धेरै हदसम्म नियन्त्रण गर्न सजिलो हुने उनले औंल्याए । ‘अन्यथा यो वर्ष दसैं, तिहारलगायतका चाडपर्वको समयमा कोरोनाको विस्तार झन् बढेर स्थिति भयावह हुन सक्छ ।’

लकडाउन हटेपछि हवाई मार्गबाट भारत र अन्य राष्ट्रबाट मुलुक भित्रिने नेपालीको संख्या बढ्नेछ । विज्ञहरूले असार मसान्त वा साउन १५ सम्म लक्ष्यअनुसारको परीक्षण सक्नुपर्ने सुझाव दिएका छन् । त्यसपछि संक्रमण नियन्त्रणमा आउने उनीहरूको दाबी छ । तर द्रुत परीक्षण किट (आरडीटी) बाट भएको परीक्षणलाई भने यसमा समेट्न नसकिने विज्ञ बताउँछन् । ‘हाल करिब एक लाख २ सय ८७ नमुनाको आरडीटी परीक्षण भएको छ । यसबाट हुने कोभिड–१९ परीक्षणलाई प्रधानमन्त्रीले भन्नुभएको परीक्षण विस्तारमा जोड्न मिल्दैन,’ त्रिवि शिक्षण अस्पताल, बायो केमिस्ट्री विभागका डा. विनोदकुमार यादवले भने, ‘मुलुकमा हाल रोग पहिचानका लागि आरडीटी परीक्षण गर्नुको कुनै फाइदा नै छैन भने यसलाई विश्व स्वास्थ्य संगठनले समेत मान्यता दिएको छैन ।’

उनका अनुसार हाल प्रधानमन्त्रीले भनेअनुसार पीसीआर परीक्षण गर्न न्यूनतम ७ लाख न्युक्लिक एसिड एक्स्ट्राक्सन किट, ७ लाख रिएजेन्ट, ७ लाख भीटीएम आवश्यक पर्छ । हाल सरकारसँग १२ हजार वटा भीटीएम र ५० हजार पीसीआर किट मौज्दातमा छ । स्वास्थ्य मन्त्रालयले २ लाख ५ हजार भीटीएम र १ लाख ७५ हजार पीसीआर किट खरिद प्रक्रिया अगाडि बढाएको भए पनि कहिले आइपुग्छ ठेगान छैन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलजिस्ट डा. श्रवणकुमार मिश्रका अनुसार प्रधानमन्त्रीको भनाइलाई व्यवहारमा उतार्न हाल भएका प्रयोगशालाहरूलाई बिहान, बेलुका र राति गरी तीन सत्रमा चलाउनुपर्नेछ । त्यसका लागि प्रत्येक केन्द्रमा जनशक्ति विस्तार, उपकरणको मौज्दात, निरन्तर परीक्षण किट र नमुना संकलन तीव्र गतिमा हुनुपर्छ ।

परीक्षण क्षमता बढाउन कोरोनाका शंकास्पदहरूको नमुना संकलन गर्न व्यापक स्वास्थ्यकर्मीहरूको परिचालन आवश्यक हुन्छ । ‘अहिलेको हिसाबले हेर्दा कन्ट्याक्ट ट्रेसिङ नै गलत तरिकाले गरिएको छ, मान्छे मरेपछि कोरोना रिपोर्ट आउने अवस्था छ,’ डा. मरासिनीले भने, ‘६ लाख जनाको परीक्षण गर्न धेरै महिना लगाउँदा सकारात्मक नतिजा आउँदैन ।’ उनले कोरोनाको तेस्रो चरणको विस्तार हुनअघि नै मुलुकभर परीक्षण सक्नुपर्ने बताए ।

एक दिनमा हालसम्मकै धेरै संक्रमण

नेपालमा बुधबार कोरोना भाइरस (कोभिड–१९) का १ सय १४ जना संक्रमित थपिएका छन् । एक दिनमा संक्रमण देखिएको यो हालसम्मकै धेरै हो । योसँगै संक्रमितको संख्या ८ सय ८६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार थपिएका संक्रमितहरू झापा, सप्तरी, मकवानपुर, रौतहट, बागलुङ, रुकुम पूर्व, दाङ, बाँके, सिरहा र बाराका हुन् ।

बुधबार थप २८ जना अस्पतालबाट डिस्चार्ज भएपछि हालसम्म रोग निको भएर घर जानेको संख्या १ सय ८३ पुगेको छ । संक्रमण ४७ जिल्लामा विस्तार भएको छ । कुल संक्रमितमध्ये ९० जना महिला र ७ सय ९६ जना पुरुष छन् ।

बुधबार पीसीआरबाट ३ हजार ५ सय ८० नमुनाको परीक्षण गरिएको छ । हालसम्म यो संख्या ५८ हजार २ सय ७७ पुगेको छ । यस्तै, बुधबार आरडीटीबाट २ हजार ३ सय २० नमुनाको परीक्षण गरिएको छ । देशभर १ लाख २ सय ८७ नमुनाको आरडीटी परीक्षण भएको छ । देशभर ७० हजार ३ सय ५ जना क्वारेन्टाइनमा छन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : जेष्ठ १५, २०७७ बिहीबार  १ : ४९ बजे