लिम्पियाधुरा, कालापानी नेपाली भुमी, संविधान संशोधन प्रस्ताव सकारात्मक : सभापति देउवा



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भू—भाग भएको भन्दै संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक भएकाले कांग्रेसको धारणाका बारेमा भ्रममा नपर्न आग्रह गरेका छन् । गणतन्त्र दिवसका अवसरमा शुभकामना दिदै देउवाले कांग्रेस संविधान संसोधनका विषयमा स्पष्ट भएको बताएका छन् । उनले पार्टीको केन्द्रीय समितिको बैठकबाट यसबारे संस्थागत निर्णय गर्ने भन्दै नेपाली कांग्रेसको धारणा बारे कुनैपनि भ्रमपूर्ण समाचारको भ्रममा नपर्न आग्रह गरेका छन् ।

जेठ १५, २०७७

गणतन्त्र दिवसको शुभकामना १

गणतन्त्र दिवसको अवसरमा लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्नु हुने वीर शहिदहरुप्रति उच्च सम्मान प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को सफलता पश्चात नेपाली कांग्रेसको नेतृत्वमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको हो । नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस ९कोभिड १९० को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको छ । उच्च सर्तकता र दृढ मनोबलका साथ यो महामारीको सामना गर्न म सबैलाई आग्रह गर्दछु ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भू—भाग हुन् । संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक छ । केन्द्रीय समितिको बैठकबाट यसबारे संस्थागत निर्णय गर्नेछौं । नेपाली कांग्रेसको धारणा बारे कुनैपनि भ्रमपूर्ण समाचारको अलमलमा नपर्न आग्रह गर्दछु ।

अन्त्यमा, गणतन्त्र दिवसको यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक शुभकामना प्रकट गर्दछु ।

जय नेपाल १

शेरबहादुर देउवा
सभापति

प्रकाशित मिति : जेष्ठ १५, २०७७ बिहिबार  २ : ५३ बजे