नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शेरबहादुर देउवाले महाकाली नदीपूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि रहेको स्पस्ट पार्दै संविधान संशोधन विधेयकमा कांग्रेसको पूर्ण समर्थन गरेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको छलफलमा देउवाले यस्तो बताएका हुन ।
प्रतिनिधिसभाको बैठकमा करिब चार मिनेट मात्रै सम्बोधन गरेका देउवाले सुगौली सन्धि १८१६ अनुसार अंग्रेजले छापेको नक्सा र चीनको नक्सामा पनि कालीपूर्व नेपालको भूभाग भएको स्पष्ट भएको बताए ।
“ जुनसुकै पार्टी होऊन् राष्ट्रियताका पक्षमा एकताबद्ध छन्, राष्ट्रको सार्वभौमिकताका लागि, राष्ट्रको अखण्डताको लागि नेपाली एक छन् भन्ने कुरा प्रष्ट भएको छ”, पूर्वप्रधानमन्त्री देउवाले भने । उनले विधेयकमा आफ्नो पार्टीको समर्थन रहेको समेत जानकारी दिँदै आफ्नो पार्टीको केन्द्रीय समितिले संशोधनका पक्षमा समर्थन गर्ने निर्णय गरेको बताए ।
आगामी दिनमा जमीन फिर्ता ल्याउने विषयमा पनि आफ्नो पार्टीको समर्थन हुने उनको भनाइ थियो ।








