नेपाल कम्युनिष्ट पार्टीले नेपाली भूमिबाट चीनविरोधी गतिविधि गर्न नदिने र नेपाल एक चीन नीतिको पक्षमा अविचलित रहेको प्रतिबद्धता जनाएको छ। नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच शुक्रबार भएको भर्चुअल कार्यशाला गोष्ठीमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तो प्रतिबद्धता जनाएका हुन्।
कार्यशालामा सहभागी नेपाल चीन विषयका जानकार कल्याण रोक्काले भने‚ ‘नेकपा अध्यक्ष प्रचण्डले नेपालबाट चीन विरोधी गतिविधि गर्न नदिने विषयमा प्रतिबद्धता जनाउनुभएको छ।’ नेपालमा स्वतन्त्र तिब्बतलगायतका गतिविधि हुने भएकाले चिनियाँ नेताहरूले यसमा चासो प्रकट गर्दै आएका छन्।
यसैगरी कम्युनिस्ट पार्टीको सम्बन्धलाई बलियो बनाउँदै लगिने नेताहरुले बताएका छन्। नेकपा अध्यक्ष प्रचण्डसहित नेकपाका शीर्ष नेता र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुखसहित नेताहरुको कार्यशाला उद्घाटन कार्यक्रमा नेपाल चीनबीच सुमधुर सम्बन्ध बनाउँदै लग्नेमा प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यशाला उद्घाटन कार्यक्रममा चिनियाँ अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओलगायत नेताहरुले चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको सम्बन्ध ऐतिहासिक भएको उल्लेख गरेको नेकपा केन्द्रीय सदस्य विशाल भट्टराईले बताए। भौगोलिक रुपमा नेपाल चीनबीच जोडिएको सम्बन्धलाई बलियो बनाउँदै लग्ने चर्चा गरिएको छ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थापनाको ९९ वर्ष पूरा भएको र नेपाल–चीन दौत्य सम्बन्धको ६५ वर्ष पूरा भएको अवसरमा नेकपा र सीपीसीबीच भिडियो कन्फ्रेन्स भएको थियो ।








