काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रमको सम्मान आजको आवश्यकता रहेको बताउनुभएको छ । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आयोजना गरेको ‘लोकतान्त्रिक समाजवाद र सूदुरपश्चिम प्रदेश’ विषयक भर्चुअल अन्तरक्रियामा उहाँले नेपालमा श्रमको सम्मान नहुँदा लाखौँ युवा विदेशिन बाध्य हुनु परेको बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले भन्नुभयो, “श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न नसकेसम्म विदेशिने र सहरमा जनसङ्ख्याको चाप बढ्ने अवस्थाको अन्त्य हुँदैन ।” उहाँले गाउँको विकास, गाउँका जनतालाई रोजगारी र गाउँमा नै जनतालाई आम्दानीको बाटो पहिल्याउनु अहिलेको मुख्य आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले महाकाली सन्धिको कार्यान्वयन नहुँदा सुदूरपश्चिम प्रदेश विकासको गतिमा अगाडि बढ्न नसकेको बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले बन्दाबन्दी खुकुलो हुन थालेपछि पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका तत्काल परिमार्जन गरेर महाधिवेशनको काम अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो । काँग्रेसभित्र व्यापक सुधारको खाँचो रहेको उहाँको भनाइ थियो ।








