नेपाली काँग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयक बहुमतबाट पास गरे ‘नोटअफ डिसेन्ट’ लेख्ने निर्णय गरेको छ । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रिय सहमतिका लागि सरकार पक्षलाई आग्रह गरिने र पेलेरै अघि बढ्न खोजे ‘नोट अफ डिसेन्ट’ लेख्ने निर्णय गरेको हो ।
सत्तारुढ नेकपाको सचिवालय बैठकले नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलाले अंगीकृत नागरिकता लिन सात वर्ष समय अवधि राख्नुपर्ने निर्णय लिएपछि काँग्रेसले यस्तो निर्णय लिएको हो ।पूर्वपदाधिकारी र संसदीय समितिमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूसँगको छलफलमा पुरानै अडानमा कायम रहने निष्कर्ष निकालेको स्रोतको भनाइ छ ।
यस अघी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले प्रस्तावित नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था राख्ने गरी विधेयक अघि बढाउने निर्णय गरेको थियो ।
लामो समयदेखि प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको सो विधेयकबारे समितिमा सहमति जुट्न नसक्ने दिखिएको छ ।








