राप्ती राजमार्गको साँखखोलामा रहेको बेलिब्रिज जीर्ण बन्दा जोखिम बढेको छ । रुकुम९पश्चिम०को मुसीकोट नगरपालिका ४ र १२ लाई जोड्ने पुल दिनदिनै जीर्ण बन्दै जाँदा जोखिम बढ्दै गएको हो । विसं २०६२ मा निर्माण भएको बेलिब्रिज निकै जीर्ण बनेकाले सवारीका साधनलाई वारपार गर्न मुश्किल भएको छ ।
पुलमा रहेका पाता ९प्लेट० टुक्रिएका छन् भने राखिएको ठाउँबाट निस्किएका छन् । यसले गर्दा मोटरसाइकललगायत साना सवारीका साधन पुलबाटै खस्ने जोखिम रहेको छ । त्यस्तै ठूला सवारी साधनको भारसमेत थेग्न पुललाई हम्मे भएको छ ।
निर्माण भएको धेरै समय भइसकेको र बेलाबेलामा सामान्य मर्मत गरिए पनि अब धेरै समय पुलले भार थेग्न सक्ने अवस्था नरहेको स्थानीयवासीको भनाइ छ । पुलमा रहेका फलामका पाता तीन वर्ष अगाडि फेरिएको पनि पुनः टुक्रिँदै गएका हुन् । ‘पुलमा रहेका पाताहरु टुक्रिएर तथा फुत्किएर एक ठाउँबाट अर्को ठाउँ पुगिसकेका छन्,’ स्थानीयवासी नरवहादुर ओलीले भने , ‘पुलमा ठूलाठूला प्वालहरु रहेका छन् जसबाट मोटरसाइकल खस्लान् भन्ने डर छ ।’ दैनिकजसो मोटरसाइकल र अन्य सवारी साधन चिप्लिएर तथा पुलमा रहेका ठूलाठूला प्वाल छल्ने क्रममा दुर्घटनामा पर्ने गरेको ओलीले बताए ।
अहिलेसम्म ठूलो दुर्घटना हुनबाट जोगिए पनि पुल मर्मतमा कसैको ध्यान नजाने हो भने ठूलै दुर्घटना नहोला भन्न नसकिने अवस्था रहेको स्थानीयवासीको भनाइ छ । उक्त पुलबाट दैनिक सयौंँ साना तथा ठूला सवारी साधन वारपार गर्ने गरेका छन् । रुकुम –पश्चिम र पूर्वलाई दाङ तथा राजधानी काठमाडौंँलगायत जिल्लासंँग जोड्ने राप्ती राजमार्गमा पर्ने यो महत्वपूर्ण पुल हो ।








