सत्तारुढ दल नेकपाको आजको स्थायी कमिटी बैठक सकिएको छ । बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको प्रबक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पहिलो दिन अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले धारणा राखेका थिए । त्यसपछि हिजो दोस्रो दिन १८ जना स्थायी कमिटी सदस्यले धारणा राखेका थिए । तेस्रो दिनको बैठक सकिदासम्म ३८ जना सदस्यले बोलेका छन् ।
अहिलेसम्म सीमा विवाद र नयाँ नक्साका विषयमा मात्रै छलफल भएको प्रवक्ता नारायणकाजी जानकारी दिए । आजसम्म बोल्ने सदस्यहरुले नयाँ नक्सा सार्वजनिक गरेकोमा सरकारलाई धन्यवाद दिदै अब भारतले मिचेको भूभाग फिर्ता ल्याउनका लागि ठोस कुटनीतिक पहल गर्न सुझाब दिएका छन् ।
हिजोको बैठकमा अनुपस्थित प्रधानमन्त्रीसमेत रहेका ओली आज एकैछिन बैठकमा बसेर बाहिरिएका थिए । स्थास्थ्यमा समस्या भएकाले बैठक अवधिभर बस्न नसकेको जानकारी प्राप्त भएको प्रवक्ता श्रेष्ठले बताए । अर्को बैठक असार १६ गते विहान ११ बस्ने भएको छ ।
बैठकमा बोल्ने धेरै नेकपा नेताहरुको सरकारको काम प्रभावकारी भएन भन्ने गुनासो छ ।बैठकमा प्रचण्ड र माधव नेपाल पक्षका नेताहरूले ओलीको राजीनामा माग्ने तयारी गरिरहेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष ओली भने सरकारले अप्ठ्यारो परिस्थितिका बावजुदपनि धेरै राम्रा काम गरेको दाबी गरिरहेका छन् ।








