बन्दाबन्दी खुकुलो हुँदै गए पनि सरकारले अझै केही समय सैलुन (नाइ) व्यवसाय सञ्चालनमा रोक लगाएपछि व्यवसायी मर्कामा परेका छन् । कोरोना भाइरस सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले होटल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लरलगायतका केही व्यवसाय सञ्चालनमा रोक लगाएको छ । यसले गर्दा तराई मधेशबाट यहाँ आएर भाडामा बस्दै आएका सैलुन व्यवसायी ठूलो आर्थिक चपेटामा परेका छन् ।
दाह्री, कपाल काटेर गुजारा चलाउँदै आएका व्यवसायीले चार महिनादेखि व्यवसाय ठप्प हुँदा आफूहरु मर्कामा परेको बताएका छन् । अन्य व्यवसायजस्तै सुरक्षाका विधिहरु अपनाएर सैलुन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने उनीहरुको माग छ । नेपाल नाई सङ्घले आफ्नो व्यवसाय क्षेत्रको समस्याबारे शुक्रबार प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई ज्ञापनपत्र बुझाइसकेको छ । प्रशासनले व्यवसाय सञ्चालनमा सहजीकरण गरिदिनुपर्ने नाई सङ्घको माग छ ।
नाई व्यवसायी विनोद ठाकुरले लामो लकडाउनले बिहान–बेलुकाको छाक टार्न समस्या भएको गुनासो गरे । “हाम्रो व्यवसाय चार महिनादेखि पूर्णरूपले बन्द छ, पसलको भाडा, घरभाडा तिर्न र बिहान–बेलुका के खाने भन्ने समस्या भइसक्यो”,उनले भने , “सबै व्यवसायी परिवारसहित तराई–मधेसबाट आएर यहाँ घर भाडा लिएरै बसेका छौँ, लकडाउनमा अन्य व्यवसाय खुले पनि सैलुन व्यवसाय सरकारले बन्द गर्दा हामी ठूलो मर्कामा प¥यौँ ।”
अर्का व्यवसायी सुवीर अन्सारीले आफूहरुको एक मात्र पेशा बन्द हुँदा जीविकोपार्जनमा कठिनाइ भएको बताe । “पसल र घरको भाडा तिर्नै समस्या भइसक्यो, घरबेटीले बारम्बार भाडा माग्न थाले, अब सापटी माग्न ठाउँसमेत रहेन”, अन्सारीले भने । नेपाल नाई सङ्घ सुर्खेतका अनुसार सुर्खेत उपत्यकामा झण्डै ५० सैलुनहरुका २०० युवाहरुको रोजगारी गुमेको छ ।








