नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेकपाभित्र देखिएको बिबादको बारेमा बोल्दै आफूले हतार गरेको भए देश र पार्टी दुर्घटनामा पर्न सक्ने बताएका छन्।
गृहजिल्ला चितवनको माडीमा शनिबार नेताकार्यकर्तासँग भएको छलफलमा अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको आन्तरिक विवादबारे जानकारी गराए ।
उनले भने, “पार्टी एकताबद्ध बनाउँदै समाजवादको बाटोमा हिँड्नका लागि जनताले विश्वासका साथ मत दिएका हुन् । त्यसमा कहीँ कसैले चुक्नु हुँदैन । हतारमा निर्णय गरेर भोलि पछुताउने समय नआओस् भन्ने नै हो ।” अध्यक्ष दाहालले अब पार्टी दुर्घटनामा नजाओस् र देश दुर्घटनामा नजाओस् भन्नका लागि पार्टीभित्रको विवाद मिलाउन लागिपरेको बताए । उनले थपे, “कुनै न कुनै समझदारी र सहमतिमा देश र जनतालाई अघि राखेर काम गरे समस्याको हल निस्कन्छ ।” उनले भने, “प्रधानमन्त्रीको चाहना पनि सहमति र समझदारी गरेरै अघि बढ्ने रहेको छ ।”
कार्यकर्ताहरुलाई निर्देशन दिँदै अध्यक्ष दाहालले हतार गरेर कुनै खालका गतिविधि नगर्न आग्रह गरे ।








