इन्द्रावती नदीमा बालकसहित तीन बेपत्ता



इन्द्रावती नदीले बगाउँदा मण्डनदेउपुर नगरका १२ वर्षीय बालकसहित तीन बेपत्ता भएका छन् । काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक सीमा भएर बग्ने इन्द्रावती नदीमा शनिबार साँझ दुई पुरुष र शुक्रबार एक बालक बेपत्ता भएका हुन् ।

शनिबार साँझ मण्डनदेउपुर नपा–१० हल्देटारका ३७ वर्षीय चन्द्र लामा र माझीगाउँका ३३ वर्षीय सम्फे माझी नदी तर्ने क्रममा बेपत्ता भएको वडाध्यक्ष विष्णु नेपालले बताए ।  शुक्रबार दिउँसो स्थानीय दीपक नेपालीका १२ वर्षीय छोरा अभिषेक इन्द्रावती नदीमै बेपत्ता भएका हुन् । अभिषेक साथीसँगै नदी तर्ने क्रममा बेपत्ता भएका हुन् ।

माझीको सिन्धुपाल्चोकको ¥यालेमा पनि घर भएका कारण रोपाइँ सकेर साँझ घर फर्कँदा नदी तर्ने क्रममा लामा र माझीलाई बगाएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै नेपालले बताए ।  उनका अनुसार शनिबार साँझदेखि स्थानीय प्रहरी तथा सशस्त्र प्रहरीका गोताखोरसमेतले खोजी गर्दा भेट्टाउन सकेको छैन ।अविरल वर्षाका कारण नदीको बहाव बढिरहेकाले खोजीमा निकै कठिनाइ भइरहेको नेपालले बताए ।

यसैबीच अविरल वर्षाका कारण सात घर पहिरोको जोखिम भएकाले वडा कार्यालयले राहत उपलब्ध गराएको छ । सात परिवारलाई राहतसहित अन्यत्रै सारिएको वडाध्यक्ष नेपालले बताउनुभयो । उहाँका अनुसार वर्षा अझै लम्बिँदा सो वडामा थप घर जोखिममा पर्ने देखिएको छ ।

प्रकाशित मिति : असार २८, २०७७ आईतबार  ३ : ५८ बजे