नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने नैतिक र राजनीतिक आधार गुमाएको बताएको छ। कांग्रेसले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिबारे सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को धारणा समेत मागेको हो ।
मंगलबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र ब्यवहारप्रति पार्टीको गम्भीर विमति रहेको बताएका छन् ।
‘प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र व्यवहारप्रति गम्भीर विमति प्रकट गर्दै यसबारे सरकार र नेकपाको संस्थागत धारणा सार्वजनिक गर्न माग गर्दछु,’ प्रवक्ता शर्माले भनेका छन्, ‘प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकार र नेकपाको मत होइन भने शासन गर्ने नैतिक र राजनीतिक आधार उहाँले गुमाएको थप पुष्टि हुन्छ।’
वर्तमान परिस्थितिमा प्रधानमन्त्रीको दायित्व एकातर्फ, व्यवहार अर्कातर्फ हुनु देशका लागि दुर्भाग्य भएको कांग्रेसको निष्कर्ष छ । प्रवक्ता शर्माले विज्ञप्तिमार्फत् सरकारलाई विभिन्न चार वटा प्रश्न पनि गरेका छन् ।
प्रधानमन्त्री ओलीले श्रीराम भारतीय नभएको र अयोध्या पर्साको ठोरीमा पर्ने अभिव्यक्ति दिएका थिए । यसको चौतर्फी आलोचना भएको छ ।









