कोरोना भाइरस संक्रमितको उपचारका लागि सरकारले खरिद गरेको स्वास्थ्य सामाग्रीको भ्रष्टाचार भएको भन्दै छानबिन माग गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुनः उजुरी दर्ता भएको छ। मेडिकल सामग्री खरिदका विषयमा भ्रष्टाचार छानिबन माग गर्दै आयोगमा परेको यो तेस्रो उजुरी हो।
कोभिड १९ को महामारीबाट नागरिकहरूलाई जोगाउन ठूलो बजेट खर्च गरिए पनि त्यसको अनुगमन नगरि सो कार्यले भ्रष्टाचारलाई प्रोत्साहन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम सो विषय आयोगको क्षेत्राधिकारभित्र पर्ने भएकाले निजहरू माथि अनुसन्धान गरी कारवाही गर्न अभियानकर्मीहरुले उजूरीमा आग्रह गरेका छन् ।
‘इनफ इज इनफ’ अभियानका ५० जना अभियन्ताका तर्फबाट अर्थ मन्त्रालय, अर्थसचिव, अर्थमन्त्रीलगायतविरुद्ध अनिमियतता र भ्रष्टाचारको छानबिनको मुद्दा दायर भएको हो। उनीहरूले सूचनाको हकको निवेदनसमेत दर्ता गराएका छन्।
‘इनफ इज इअफ’ समूहले अर्थमन्त्री डा युवराज खतिवडा, अर्थसचिव शिशिरकुमार ढुंगानाविरुद्ध बजेटको अनुगमन नभएको भन्दै उजुरी गरेको हो। उजुरीमा कोरोनाका लागि भएको बजेट खर्च समेत अपारदर्शी भएको जिकीर गरिएको छ
स्वास्थ्य सेवा विभागले चीनबाट स्वास्थ्य सामाग्री तथा उपकरण खरिद गर्दा ओम्नी समूहलाई दिएको ठेक्कामा भ्रष्टाचार भएकाले उक्त कार्यमा संलग्न सबैमाथि अनुसन्धान हुनुपर्ने उजुरीमा उल्लेख छ।
यसअघि सोही समूहले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र रक्षामन्त्री इश्वरपोखरेलमाथि अनुसन्धान माग गर्दै उजुरी दायर गरेको थियो।
सरकारले गरेका सम्झौताहरूको पालना गर्न तथा सत्याग्रहीहरूको जीवन रक्षाको लागि सरकारलाई घच्घच्याउन अभियानकर्मीहरुले आम जनसमुदायसँग आग्रह गरेका छन् ।








