काठ्माण्डौमै नेकपाका नेता सहित एक सय ५३ जना कांग्रेसमा प्रवेश



केपी शर्मा ओली नेतृत्वको झण्डै दुई तिहाइको कम्युनिस्ट सरकार अलोकप्रिय भइरहेका बेला ओलीकै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका नेता तथा कार्यकर्ताहरू पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं २ ले शनिबार शंखरापुर नगरपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा र राप्रपाका नेता तथा कार्यकर्ताहरू कांग्रेस प्रवेश गरेका हुन् ।

उनीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद भीमसेनदास प्रधान र काठमाडौं क्षेत्र नं २ का सभापति उपेन्द्र कार्कीले पार्टी प्रवेश गराएका छन् ।

नेपाली कांग्रेस प्रवेश गर्नेमा राप्रपाका जिल्ला सदस्य गोविन्दबहादुर श्रेष्ठ, नेकपाका प्रभावशाली नेता महेश्वर श्रेष्ठ, राप्रपाका नेता राजाराम केसी, राप्रपाका नेता धनराज घलेसहित १५३ जना स्थानीय नेता तथा कार्यकर्ताहरू रहेको काठमाडौं कांग्रेसका जिल्ला सदस्य तथा संगठन विभाग प्रमुख ओमबहादुर कार्कीले जानकारी दिए ।

शंखरापुर नगरपालिकाको वडा नं १ देखि ८ सम्मका राप्रपा र नेकपाका नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गराउन संगठन विभागका प्रमुख कार्की, कांग्रेस नेताद्वय उद्धव खड्का र प्रवीणमान सिंहले विशेष भूमिका खेलेका थिए ।

काठमाडौं क्षेत्र नं २ मा तत्कालीन नेकपा (एमाले) बाट प्रतिनिधि सभामा माधवकुमार नेपाल निर्वाचित भएका थिए ।

प्रकाशित मिति : श्रावण २५, २०७७ आइतबार  ६ : ५८ बजे