नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई पराजित गर्नका लागि आफु मात्र विकल्प भएको भन्दै उमेदवार बन्नका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंहसंग छलफल भइरहेको बताएका छन् । उनले १४ औं महाधिवेशनमा देउवालाई आफुले मात्र सभापति पदमा पराजित गर्न सक्ने बताए ।
सोमवार राती कान्तिपुर टेलिभिजनको फायर साइड कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले जिल्लाबाट नेता, कार्यकर्ताले सभापतिमा देउवालाई आफुले मात्र हराउन सक्ने भन्दै दबाब दिएको पनि खुलासा गरे ।
उनले भने “जिल्ला जिल्लाबाट तपाईं नै लडनुपर्छ भनिरहनुभएको छ । मैले ने लडनुपर्छ । तर, सल्लाह गर्छु सामुहिक रुपमा निर्णय गर्छौ । सभापति उठनु मेरो लागि एक किसिमको राजनीतिक बाध्यता हो । पार्टी दुर्दशामा परेको हुनाले पनि यसलाई वीपीको बाटोमा हिँडाउनुपर्छ ।”
उनले पार्टी सभापतिको उमदबार बन्ने विषयमा वरिष्ठ नेता रामचन्द पौडेल, नेता प्रकाशमान सिंह लगायतका सभापतिका सबै आकांक्षीसँग सल्लाह गरेर मात्र निर्णय गर्ने पनि बताए । त्यस्तै, उनले कांग्रेस अहिले वीपीले देखाएको बाटोभन्दा पृथक बाटोमा हिँडिरहेको पनि बताए । वीपीले देखाएको बाटोमा काग्रेसलाई हिँडाउन आफुसँग प्रष्ट योजना भएको पनि उनले बताए ।








