काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भू-भागमा सामान्य बदली भई अहिले प्रदेश ५, कर्णाली, सुदूरपश्चिम तथा आसपासका भू-भागमा मेघ गर्जनसहित केही स्थानहरूमा पानी परिरहेको छ। महाशाखाले कञ्चनपुर, डडेलधुरा, डोटी, कैलाली, बर्दिया, अछाम, सुर्खेतमा धेरै वर्षा भएको जनाएको छ।
आगामी २४ घण्टा बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले उक्त स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरिएको छ।
हाल नेपालको दक्षिणतर्फ मनसुनी न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) अवस्थित रहनुका साथै देशभरको मौसममा भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ।










