वामदेवलाई मन्त्री नबनाउने ओलीको अडानले नेकपामा लफडा



गत फागनमा नेकपा सचिवालयले उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने भनेर गरेको निर्णय कार्यान्वयन गर्न स्वयम गौतमले दबाब दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली दबाबमा परेका छन् । सचिवालयका ९ जनामध्ये बहुमत सदस्यले वामदेवलाई राष्ट्रिय सभामा ल्याउने निर्णय कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

गौतमले अध्यक्षद्धय ओली र पुष्पकमल दाहाललाई भेटेर आफूलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन हुनुपर्ने बताएका छन् । ऋषि धमलासँग प्राइम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रममा कुरा गर्दै प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजाने च्याप्टर क्लोज भएको बताएका थिए । लगत्तै, गौतमले आफूलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन हुनुपर्ने अडान राखेका हुन् ।

नेकपाको सचिवालय बैठक यही भदौ १८ गते बस्दैछ । त्यही बैठकमा वामदेवलाई राष्ट्रिय सभामा लैजानेबारे महत्वपूर्ण निर्णय हुने नेताहरुले बताउन थालेका छन् । तर, प्रधानमन्त्री ओली भने अझैपनि अर्थमन्त्री डा । युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन् ।

उनले गौतमलाई राष्ट्रिय सभामा ल्याएपनि मन्त्री भने नबनाउने तयारी थालेका छन् । बरु, गौतम पत्नी तुलासा थापालाई मन्त्री बनाउने ओलीको योजना छ । ओलीले आफूनिकट नेताहरुसँग पनि वामदेवलाई राष्ट्रिय सभामा मनोनित गरिएपनि मन्त्री बनाउँदिन भन्ने अडान सुनाएको स्रोतको दाबी छ ।

प्रकाशित मिति : भदौ १७, २०७७ बुधबार  ४ : १९ बजे