नेपाली कांग्रेसले बीपी कोइरालाको १०७ औं जन्मजयन्ती तीन दिनसम्म विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । भदौ २४, २५ र २६ गते जुम एपमार्फत् बिभिन्न शीर्षकमा विचार गोष्ठी गरेर बीपीको जन्मजयन्ती मनाइने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । कांग्रेस केन्द्रीय समितिको आयोजनामा भदौ २४ गते दिउँसो १ बजे बीपीको विचार नेपालको समन्नतिको मूल बाटो विषयको विचार गोष्ठी आयोजना हुने छ ।
सो कार्यक्रममा मुख्य वक्ताको रुपमा पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेललगायतका नेताहरु सहभागी हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । यसैगरी भदौ २५ गते दिउँसो १ बजे नै ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा वीपीको योगदान विषयमा विचार गोष्ठी हुने छ ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले संयोजन गर्ने सो कार्यक्रममा उपसभापति विमलेन्द्र निधि र विज्ञहरुको सहभागीता रहने छ । यसैगरी भदौ २६ गते दिउँसो १ बजे नै विचार निर्माण एवं प्रचारमा वीपीको शैलीको आलोकमा अबको रणनीति विषयमा विचार गोष्ठी आयोजना गरिने कांग्रेसले जनाएको छ ।
सूचना, संचार तथा प्रचार विभागले संयोजन गर्ने यो कार्यक्रममा नरहरी आचार्य, प्रदीप गिरिलगायतका नेताहरु वक्ताका रुपमा रहने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले जानकारी दिए । कांग्रेसले बीपी जयन्ती भौतिक दुरी कायम गरेर, मास्क प्रयोग गरेर वा भर्चुअल विधिबाट मनाउन जिल्ला र विदेशस्थित सम्पर्क समितिलाई एक साताअघि नै परिपत्र गरिसकेको छ । बीपी कोइरालाको जन्मजयन्ती भदौ २४ गते पर्दछ ।








