काठमाडौं । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत थप एकजना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वार्ड नम्बर १० का ६९ बर्षीय पुरुषको मृत्यु भएको हो ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार उनी भदौ २२ गते अस्पतालमा भएका थिए भने २२ गतेदेखी आईसियुमा राखेर उपचार गर्दागर्दे आज मृत्यु भएको छ ।
उनलाई कुनै दीर्घरोग नभएको अस्पतालले जनाएको छ । उनको शव व्यवस्थापन सेनाले गर्ने जनाएको छ ।
यस्तै लुम्बिनी मेडिकल कलेजमा पाल्पामा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । निमोनियाले बिरामी परेकी तानसेन नगरपालिका–१४, कुसेनीकी ४१ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार तीन दिनअघि अस्पतालमा उपचारका लागि आएको र शंकास्पद लक्षण देखिएपछि कलेजले पीसीआर परीक्षणका लागि महिलाको स्वाब पठाएको थियो । उनको शुक्रबार बेलुकी स्वाबको नतिजा पोजिटिभ आएको अस्पतालका निर्देशक डा.राजु शाक्यले बताए ।








