राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा आवश्यक सुरक्षा मापदण्ड र सामाजिक दूरी कायम गर्दै विशेष समारोहबीच आज छैटौँ संविधान दिवस मनाइएको छ ।
समारोहमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ कारण मुलुकले सोचेअनुसारको लक्ष्य हासिल गर्ने सन्दर्भमा केही व्यवधान खडा भए पनि जोखिम कम हुनासाथ अर्थतन्त्र पुरानै लयमा फर्कने विश्वास व्यक्त गर्नुभयो । अर्थतन्त्रका अन्य सूचक, दुरुस्त रहेको अवस्थामा पर्यटनलगायत सेवा क्षेत्र सञ्चालन हुनासाथ आर्थिक वृद्धिले अपेक्षा गरेकै दरमा प्रगति हासिल हुने प्रधानमन्त्री ओलीको भनाइ छ । “महामारी अस्थायी परिघटना हो, यसको अन्त्यसँगै मुलुक ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अघि बढ्ने छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसका लागि संविधान मार्गदर्शक रहेको छ ।”
प्रधानमन्त्री ओलीले संविधान जारी भएपछि निर्वाचित सरकार सञ्चालनको पहिलो वर्ष जनआकाङ्क्षा पूरा गर्दै त्यसलाई अघि बढाउन आधार तयार गरिएको बताउनुभयो । गत वर्षदेखि यस दिनलाई राष्ट्रिय दिवसका रुपमा घरघरमा चर्चा हुने गरी मनाउन थालिएको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभयो । यस वर्ष भने सामाजिक जीवनलाई नै अस्तव्यस्त पार्ने तथा अर्थतन्त्र र विकासको अभियानलाई गम्भीर धक्का दिने कोभिड–१९ महामारी फैलिएकाले त्यसलाई ख्याल गरेर दिवस मनाइएको उहाँले बताउनुभयो ।








