काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बालुवाटारमा भेटवार्ता भएको छ।
मन्त्रिपरिषद् पुनर्गठनलगायत पार्टी सचिवालयमा प्रस्तुत एजेन्डाबारे छलफल गरी समझदारी जुटाउनका लागि भेटवार्ता भएको स्रोतले बतायो।
नेकपाका अध्यक्षसमेत रहेका ओली र प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका बाँकी रहेका काम टुंग्याउने विषयमा छलफल केन्द्रित रहेको बालुवाटार स्रोतले जानकारी दियो ।
यसअघि असोज ४ गते बसेको सचिवालय बैठकमा र भदौ २६ गते सकिएको स्थायी कमिटी बैठकमा पनि मन्त्रिपरिषद् पुनर्गठनका आधार तथा मापदण्डबारे छलफल भएको थियो ।
तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष बीच सहमति जुटिसकेको छ। संविधानमा २५ भन्दा बढी सदस्यीय मन्त्रिपरिषद् बनाउन नपाउने व्यवस्थाले राज्यमन्त्री नराख्ने गरी मन्त्रालय टुक्रयाएर आन्तरिक भागबन्डा मिलाउने प्रयास दुई अध्यक्षले गरेका हुन्।








