मोलुङका एक हजार ८ सय ७५ स्थानीयलाई हाइड्रोको शेयर



मोलुङ गाउपालिका भित्रका एक हजार आठ सय ७५ जनालाई हाइड्रो पावरले शेयरधनी बनाएको छ । मोलुङ हाइड्रो पावर कम्पनी लिमिटेडले गाउपालिका भित्रका इच्छुक स्थानीयलाई संस्थापक शेयर दिएको हो । बुधबार एक कार्यक्रमको आयोजना गरी स्थानीय जनताबाट खरिद गरेको शेयरको प्रमाण पत्र वडा अध्यक्षहरु मार्फत वितरण गरिएको मोलुङ हाइड्रो पावर कम्पनी लिमिटेडका सञ्चालक नवि महर्जनले जानकारी दिनुभयो ।
हाइड्रो पावर कम्पनी लिमिटेडले २ बर्ष अघि गउापालिका भित्रका नागरिकहरुका लागि शेयर खुल्ला गरेको थियो । प्रति वडा बढीमा ५० लाख वरावरको शेयर वितरण गर्ने कम्पनीले निर्णय गरेसंगै मोलुङ गाउपालिका भित्रका ८ वटै वडाका नागरिकहरुले वडा अध्यक्ष मार्फत शेयर वापतको रकम जम्मा गरेको स्थानीय फणिन्द्र दाहालले बताउनुभयो । स्थानीयले आफ्नो क्षमता अनुसार न्यूनतम एक हजार देखि ५ लाख अर्थात १० कित्ता देखि ५०० कित्ता सम्म शेयर लिएको दाहालले जानकारी दिनुभयो ।

गाउपालिका भित्रका प्रत्येक नागरिकको पहुचमा हाइड्रोको शेयर पुर्याउने उद्देश्यका साथ शेयर सदस्यता आव्हान गरेर एक हजार आठ सय ७५ स्थानीयलाई २ करोड ५५ लाख ३८ हजार बाराबरको २४ हजार ७ सय ५० संस्थापक शेयर उपलब्ध गराइएको हाइड्रो पावर कम्पनीका सञ्चालक महर्जनले बताउनुभयो । वडा नम्बर १–मा ३ सय ४९ जनालाई ४५ हजार ६४०, वडा नम्बर–२ मा ३ सय ७१ जनालाई ४२ हजार २६५, वडा नम्बर ३ मा १०४ जनालाई १८ हजार ८२५कित्ता शेयर विरण गरिएको छ ।

त्यस्तै वडा नम्बर ४ मा ४९१ जनालाई ५० हजार १२०, वडा नम्बर ५ मा १७४ जनालाई २७ हजार ७१०, वडा नम्बर ६ मा १२८ जनालाई २१ हजार २००, वडा नम्बर ७ मा १२५ जनालाई २४ हजार ८ ७० र वडा नम्बर ८ का १३३ जनालाई २४ हजार ७५० गरी २ लाख ५५ हजार ३ सय ८० कित्ता शेयर वितरण गरिएको महर्जनले जानकारी दिनुभयो । रकम बुझाएको २ बर्षमा समेत हाइड्रोको शेयर नपाएको भन्ने गुनासो स्थानीय नागरिक बाट आएपनि आज शेयर प्रमाण पत्र प्राप्त भएसंग शेयरधनिहरुमा खुसी छाएको मोलुङ–१ कुन्तादेवीका स्थानीय भुवन दाहालले बताउनुभयो ।

२०७४ चैत्र १२ गते बाट विद्युत उत्पादन सुरु गरेको आयोजनाको क्षमता ७ मेघावाट भनिएपनि हाल सम्म ७०.५ प्रतिशत भन्दा बढी उत्पादन गर्न नसकिएको कम्पनिले जनाएको छ । नेपाल विद्युत प्राधिकरण संगको संझौता अनुसार काम गर्न नसक्दा उत्पादनमा ह्रास आएको आयोजनाको तर्क छ । विद्युत प्राधिकरण संगको विद्युत खरिद विक्री संझौता अनुसार ओखलढुंगा–लाहान सम्मको करिव १५० किलोमिटर विद्युत प्रशारण लाइनको काम पुरा नभएका कारण उक्त आयोजनाले उत्पादन क्षमता अनुसारको विद्युत उत्पादन गर्न नसकेको आयोजना प्रमुख सुवास चन्द्र झा ले बताउनुभयो । वाहाका अनुसार यस आयोजना बाट ०७४÷०७५ मा ४३.८० प्रतिशत, ०७५÷०७६ मा ५८.४९ प्रतिशत र ०७६÷०७७ मा ७०.५ प्रतिशत विद्युत उत्पादन भएको छ । चालु आर्थिक बर्ष २०७७÷०७८ मा विद्युत प्रशारण लाइनमा आएको समस्याका कारण साउनमा ११५ घण्टा र भदौमा १५४ घण्टा उत्पादन अवरुद्ध हुदा १६ लाख ८३ हजार ३५० किलोवाट विद्युत उत्पादन घटेको झा ले बताउनुभयो । विविध कारण बाट क्षमता अनुसारका विद्युत उत्पादन गर्न नसक्दा कम्पनीलाई घाटा पुगेको आयोजनाले जनाएको छ । यस आयोजनाले ऋणको बार्षिक व्याज मात्र १२ करोड तिर्दै आएको आयोजना सञ्चालक नविन महर्जनले बताउनुभयो ।

 

प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार  ११ : ४९ बजे